काठमाडौं, १० असार । उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेको बताए।
काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा झुटो मेयर भएको उनीहरुको आरोप छ।
बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामान्तवादीहरुको पक्ष पोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ।
आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग समेत गरेका छन्।
आफूहरुका माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी छ।
बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीडा दिएको र उनमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिक दलसँग छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ÷संस्थाहरुमा अन्तरक्रिया कार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणासमेत गरेको छ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका सहसचिव राजु गिरीले बालेन पर्दा पछाडिको हिरोमात्रै बनेको र फुटपाथ व्यवसायीलाई दुःख दिने र वर्षौंदेखि नागरिक बस्दै आएको घरहरु भत्काउने काम भन्दा केही नगरको आरोप लगाए। बालेन आफू सर्वेसर्वा हुँ भनेर प्रस्तुत भइरहेको उनको आरोप छ।
‘हामीले पटक–पटक आन्दोलन र वार्ता गर्यौं । महानगरपालिकाले हामीलाई झुटा आस्वाशनमात्रै देखायो। बालेनजी मेयर जितेर आउनु भयो, म चाहिँ सर्वेसर्वा हो भनेर उहाँ पर्दा पछाडिको हिरो बन्दै हुनुहुन्छ,’ उनले भने।
महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ। अब आफूहरु महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रिनेसमेत उनले घोषणा गरे।
महानगरका प्रहरीले उठाएर लगेको सामन के गरिन्छ भन्ने वास्तविकता पनि बाहिर आउनुपर्ने उनले माग गरे।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लिला दाहालले आफूहरु पनि नेपाली नागरिक भएकाले यहाँ केही गरेर खाने र बाँच्ने अधिकार भएको बताए।
आफूहरुको पेशा व्यवसायको संरक्षणका लागि राज्यले अहिलेसम्म कुनै नीति नै नबनाएको उनको गुनासो छ।
फुटपाथ व्यवसायीहरुले विभिन्न चरणमा महानगरमा ज्ञापन पत्र बुझाउन र वार्ताका लागि जाँदा कुनै सुनुवाई नभएको उनले बताए।
बालेनले फुटपाथका व्यापारीलाई व्यवस्थापन गर्ने विषयमा बेलैमा नसोचेमा आफूहरु कडा प्रतिकारमा उत्रिने उनले उद्घोष गरे।
‘हामी चुपलागेर बस्ने छैनौं । हिजो जसरी सुकुम्बासी उठाउन जानुभयो नि त्योभन्दा पनि कडा प्रतिकारमा हामी उत्रिने छौं,’ उनले थपे, ‘त्यो सुकुम्बासीले गरेको त एउटा कास्टिङमात्रै हो, यहाँ लाखौंलाख व्यवसायी हामी उत्रिनुपर्यो भने बालेनजी हिजो कताबाट आएका हौ, उतै जानुपर्छ।’
बालेनले फुटपाथ व्यवसायीलाई विकल्प दिन्छु भनेर आफ्नो घोषणापत्रमै उल्लेख गरेको उनले बताए।
उनले आज ती घोषणापत्र कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन् । मेयर शाहले हेमराज तामाङ, इन्द्रबहादुर राईजस्ता ठूला मान्छेहरुको महलमा चाहीँ डोजर चलाउन नसकेको उनको आरोप छ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका ईन्चार्ज केशव आछामीले सरकारले उचित व्यवस्थापन नगर्दा फुटपाथ व्यवसायीले २१ वर्षदेखि पीडा झेलिरहेको बताए।
विहान बेलुका २ घण्टा फुटपाथमा बसेर साग बेचेर बालबच्चा पाल्छौं र शिक्षा दिन्छौं भन्दा पनि राज्यले विकल्प दिन नसकेको भन्दै उनले दुखेसो पोखे।
आफूहरुले महानगरसँग पटक–पटक वार्ता र छलफल गरेर समस्याको समाधान चाहेपनि यस विषयमा मेयर बालेन गम्भीर नबनेको उनको आरोप छ।
एक हप्ताभित्र यस विषयमा सरकार र काठमाडौं महानगर सकारात्मक भएर विकल्प नदिएको खण्डमा हजारौं व्यवसायीले काठमाडौं महानगरविरुद्ध संघर्ष गर्ने उनको चेतावनी छ।
संघर्षको कार्यक्रममा उपस्थित् हुनका लागि उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे । संघर्षमा बलिदान दिनका लागि पनि तयार हुनुपर्ने उनले बताए।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारका लागि २ सय तीन सदस्यीय युवा टिम तयार भइसकेको बताए।
उद्योग व्यापार सहकार्य महासंघका केन्द्रीय संयोजक कृष्णबल्लभ नेपालले नागरिकले काम गर्ने र गरिखाने वातावरण सिर्जना गर्नपर्ने बताए। गरिखान देउ भनेर पनि लड्न पर्ने दिन आएको भन्दै उनले दुखेसो पोखे।
आफूहरुले लुकेर, छिपेर, चोर जसरी व्यापार गर्नुपरेको उनको भनाइ छ। आफूहरुको पेशा व्यवसायलाई व्यवस्थित गरेर कर उठाउने वातावरण निर्माण गर्नपनि उनले महानगरलाई आग्रह गरे।
उपत्यका विशेष प्रदेशअन्तर्गत उद्यमी व्यवसायी महाशाखाका अध्यक्ष अमीर गुरुङले फुटपाथ व्यसायी आगोको झिल्को भएको बताए। उनले मेयर बालेनलाई आगोको झिल्कोसँग नखेल्नसमेत चेतावनी दिए।
काठमाडौं महानगर फुटपाथ व्यवसायी बालेन शाह