Logo
८ असोज २०८०, सोमबार

दोषी: तान्त्रिक कि राज्य ?

अक्षरपाटी
२०८० असार १३ , बुधबार ०८:०६ मा प्रकाशित

सम्पादकीय
राजधानी राजनीतिको केन्द्र मात्र होइन, आर्थिक, प्रशासनिक र अवसरको मुकाम पनि हो। जहाँ बस्ने नागरिक देशको अन्य भागभन्दा सीप र शीक्षाको दृष्टिले अब्बल हुन्छन् र उनीहरुको चेतना स्तर पनि उँचो हुन्छ भन्ने सामान्य बुझाइ हो।

तर नेपालको हालत यो भन्दा भिन्न छ। हुन त केही दिनअघि मात्रै वर्ल्ड पपुलेशन रिभ्युले प्रकाशित गरेको प्रतिवेदनमा संसारका एक सय ९९ सय देशका बासिन्दाको बौद्धिक स्तर परीक्षण गर्दा नेपालीहरुको स्थान सबैभन्दा अन्तिममा देखिएको थियो। यसले हामीलाई पृथ्वीकै मुर्खका रुपमा चित्रित गरेको छ।

हाम्रा कतिपय गतिविधिले पनि यस्तै छनक दिने गरेको छ। पछिल्लो समय राजधानीको मध्ये भागमै बसेर एक व्यक्तिले धर्म र तन्त्रका नाममा अनेकौँ अपराध धन्दा चलाइरहेको पाइएको छ।

आफूलाई शिव सुतक गौरीभक्त बाबा भनेर चिनाउने पुरुषोत्तम काफ्नलेले यो ठगी र यौन शोषणको धन्दा कुनै दूर दराजमा गरेका होइनन्, आर्थिक, प्रशासनिक र शैक्षिक दृष्टिले अब्बल मानिएको राजधानीमै चलाए। १२ जनाको उजुरीपछि उनी अहिले प्रहरी हिरासतमा छन्। उनीविरुद्ध ३ करोड ६२ लाख नगद र २७ तोला सुन ठगीको आरोप लागेको छ।

उनले यो सबै धन्दा चलाउनुको उपज भनेको जनताको विवसता, अभाव र चेतनाको कमजोर स्तरको कारण हो। ‘शिव सुतक गौरी भक्त बाबा’ त कर्ता मात्रै हुन्। तन्त्र र धर्मका नाममा ठगी धन्दा चलाउने वातावरण रहिरहन दिने दोषी भनेको राज्य हो र सत्ता सञ्चालकहरु हुन्।

देशका नागरिकलाई उचित शिक्षा, चेतना, स्वास्थ्य उपचार र रोजगारी लगायतका अप्ठेरा अवस्थाहरुको निराकणमा राज्यले ध्यान दिएको भए यस्ता तान्त्रिक गठहरुलाई विवसताको फाइदा उठाउने ‘स्पेस’ नै हुने थिएन।

त्यसैले सतहमा शिव सुतकहरु दोषी देखिए पनि अन्तर्यमा भने राज्यले नै आफ्नो कमजोरी स्वीकारेर अब उप्रान्त यस्ता वातावरणमा फस्टाउने तान्त्रिकहरुको निराकरण गर्न सक्नुपर्छ।