Logo
२७ वैशाख २०८१, बिहीबार

गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

अक्षरपाटी
२०८० असार २३ , शनिबार १०:०७ मा प्रकाशित

काठमाडौं। युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ लोकार्पण गरिएको हो।

वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतले ती पुस्तकहरु लोकार्पण गरेका हुन्।

लोकार्पण समारोहमा लेखक गौतमलाई बधाई दिँदै कलाकार मदन कृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह निकै रोचक र समयसामयिक लागेको बताए।

कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले संग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकको मन अवश्य छुने धारणा व्यक्त गरे।

समालोचक डा रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्न शैलीको प्रशंसा गरे।

उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गरे।

कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशन प्रालिसंगको सहकार्यमा दुई वटा पुस्तक पनि सहजै सार्वजनिक गर्न सकिएको बताए।

ऐरावती प्रकाशन प्रालिका प्रमुख रामदेव पाण्डेको अध्यक्षतामा आयोजित समारोहमा पाण्डेले साहित्यका गौतमको लेखन शैलीको प्रशंसा गर्दै विषम परिस्थितिमा छोटो समयकै अन्तरालमा दुई पुस्तक प्रकाशित गरेको बताए।

मुलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतमलाई यसमा पनि कथा तथा उपन्यासमा विशेष रुची छ।

२०३८ साल असार १७ गते हेटौंडा–५, मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ’शुभ प्रभात’ शीर्षकको हाईकु संग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा प्रारम्भ गरेका हुन्।

त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कविता संग्रह ‘चिनारी’ सार्वजनिक गरेका थिए।