Logo
२२ वैशाख २०८१, शनिबार

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

अक्षरपाटी
२०८० साउन २२ , सोमबार ०९:०८ मा प्रकाशित

काठमाडौं, २२ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग बतायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् ।

११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ ।