




धनगढी । धनगढी उपमहानगरपालिका–५ स्थित सहीदगेटबाट क्याम्पस रोड जाने सडकको मध्यभागमा लामो समयदेखि परेको ठूलो खाल्डो मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ।
नैनादेवी नजिकै सडकको बीचभागमा परेको खाल्डो महिनौँदेखि यथावत् रहेको स्थानीयको गुनासो छ। खाल्डो छल्न खोज्दा मोटरसाइकल तथा अन्य सवारीसाधन दुर्घटनामा पर्ने गरेको स्थानीयको भनाइ गुनासो छ।
खाल्डो आसपास दुईवटा विद्यालयसमेत रहेका छन्। दैनिक सयौँ विद्यार्थी, कार्यालय आउने–जाने सर्वसाधारण तथा सवारीसाधनको बाक्लो आवागमन हुने क्षेत्रमा सडकको अवस्था जोखिमपूर्ण बनेको स्थानीय बताउँछन्।
सोही क्षेत्रमा नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारणसमेत भइरहेकाले आवागमन र भीडभाड थप बढेको अवस्थामा सडकको खाल्डोले जोखिम झनै बढाएको छ।

स्थानीयले धनगढी उपमहानगरपालिकाको जनगुनासो इकाई र नगर नेतृत्वको ध्यानाकर्षण गराउँदै तत्काल खाल्डो पुर्न माग गरेका छन्।
‘बत्तीको व्यवस्थापन र सुन्दर सहरको चर्चा हुने गरेको धनगढीमा सडकका यस्ता खाल्डाखुल्डीले सर्वसाधारणको ज्यान जोखिममा पारिरहेको’ स्थानीयको गुनासो छ।
खाल्डोका कारण दुर्घटना भएपछि मात्र सडक मर्मत गर्ने कि दुर्घटना हुनुअघि नै जोखिम हटाउने भन्ने प्रश्नसमेत स्थानीयले उठाएका छन्। उनीहरूले धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमालसँग तत्काल सडक मर्मत गरी सम्भावित दुर्घटना रोक्न आग्रह गरेका छन्।


