Logo
११ पुस २०८१, बिहीबार

कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश

अक्षरपाटी
२०८० भदौ २४ , आईतबार ११:०९ मा प्रकाशित

काठमाण्डौ,२४ भदौ । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएको हो ।

सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गर्नुभएको हो । यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । भदौ ११ देखि कोशी प्रदेशमा बजेट शून्यता थियो ।

बजेट शून्यताले प्रदेशभरिका मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन, यातायात व्यवस्था कार्यालयमा गाडी दर्ता, नवीकरण, साना उद्योग दर्ता, मनोरञ्जन, विज्ञापन र दहत्तरबहत्तर (गिट्टी, बालुवा) कर सङ्कलन प्रभावित भएको थियो । यो अध्यादेशपछि बजेट शून्यको अवस्था सकिएको छ ।