Logo
१५ वैशाख २०८१, शनिबार

हरेक घरमा भ्रष्टाचारको बीउ !

अक्षरपाटी
२०८० असोज १२ , शुक्रबार ०३:०९ मा प्रकाशित

० अनिता घिमिरे

आमा अथवा बुबाले बच्चालाई फोन उठाउन दिएर बुबा घरमा हुनुहुन्न भनिदेउ भन्नुहुन्छ। र बच्चा बुबाकै काखमा बसेर बुबा घरमा हुनुहुन्न भनिदिन्छ। यो भ्रष्ट आचरणको बीउ नभएर के थियो त?

भ्रष्टाचार कसरी उम्रिन्छ ? हुर्किन्छ र कसरी फैलिन्छ ? किन हरेक भ्रष्टाचारलाई प्रेम गरिन्छ ? अनि भ्रष्टाचारीलाई गाली गरिन्छ। आजभोली जताततै सुनिने शब्द हो- भ्रष्टाचारले गर्दा देश खोक्रो भयो। नेता जति सबै भ्रष्ट भए, देशलाई कंगाल बनाए । नेताहरुले सत्ता र शक्तिको दुरुपयोग गरे, अनि जनतालाई धोका दिए आदि इत्यादी ।

एउटा मान्छे जीवनको कुन बिन्दुबाट भ्रष्टाचारी बन्न शुरु गर्छ । के आज नेपालमा नेतृत्वमा रहेका नेताहरु हामीले मतदान गर्नुअघि चाहि चरित्रवान थिए त? के हामीले रामको ठाउँमा श्यामलाई भोट दिएको भए भष्ट्राचार गर्दैन थिए होला ? हामीले जो कसैलाई दिए पनि भ्रष्टाचार हुने नै थियो, र छ। किनकि एउटा बालक कान सुन्न थालेको क्षणबाट नै भ्रष्टआचरणको व्यवहार देख्दै, सुन्दै हुर्किएको हुन्छ।

सामान्य परिवारको कुरा गर्ने हो भने बच्चासँग व्यवहार गर्दा आमा बुबाहरु अचेत अवस्थामा नै कुरा गर्ने गरेको पाइन्छ। उदाहरणको लागि आमा अथवा बुबाले बच्चालाई फोन उठाउन दिएर बुबा घरमा हुनुहुन्न भनिदेउ भन्नुहुन्छ। र बच्चा बुबाकै काखमा बसेर बुबा घरमा हुनुहुन्न भनिदिन्छ। यो भ्रष्ट आचरणको बीउ नभएर के थियो त?

एउटा बालकले भ्रष्ट आचरण त आमाको कोखबाटै सिक्दै आएको हुनसक्छ । मैले चिनेको एकजना बैनी गर्भवती थिइन उनका श्रीमानले उनलाई राम्ररी समय नदिएको बुझ्न सकिन्थ्यो। सायद श्रीमान र श्रीमतीको सम्बन्ध त्यति धेरै राम्रो थिएन होला। दाबी नगरौँ। दिउँसो श्रीमान घरमा नभएको समयमा अर्को एउटा पुरुषसँग कुरा गर्थिन। मेरो साथी हो भनेर मलाई पनि चिनाएकी थिइन्।

पुष महिना थियो घरको छतमा सुकुल बिछ्याएर घाममा पल्टिएर फोनमा कुरा गरिरहेकी थिइन्। उनले म आइरहेको थाहा पाइनन्। फोनमा भन्दै थिइन-म पनि त तिमीलाई माया गर्छु। अनि मैले उनलाई सोधेँ कोसँग कुरा गरेको? उनको अनुहार रातो रंगमा बदलियो। हतार हतार फोन काटिन् र भनिन( तिमि कतिखेर आएको?

मलाई त्यो बुझ्न समस्या परेन उनी आफ्नो प्रेमीसँग कुरा गर्दै थिइन्। केही समयपछि म आफ्नो घरमा गएँ। मेरो मनमा एउटा प्रश्न उब्जियो एउटी गर्भवती आमाको प्रेमको प्रशंगले पेटमा रहेको बच्चाको मनस्थितिमा कस्तो प्रभाव पर्ला?

एउटा चरित्रवान मानिस मन्त्री अथवा नेता भएपछि भ्रष्ट हुने होइन। ऊ त हरेक पल भ्रष्ट आचरण देखाइ रहेको हुन्छ। समाजले उसलाई त्यतिबेला भ्रष्ट देख्दैन। किनकि समाज आफै अन्धो छ।

अर्को एउटा उदाहरण । कक्षा ११ र कक्षा १२ मा विज्ञान बिषय लिएर अध्ययनरत विद्यार्थीहरुले जीवविज्ञान, भौतिक विज्ञान र रसायन शास्त्र जस्ता बिषयमा गरेको प्रयोगात्मक कक्षाका प्रतिवेदन हरेक दिन शिक्षकबाट हस्ताक्षर गराउनुपर्छ। तर कतिपटक विद्यार्थीहरु परीक्षाको समयमा गुरुहरुको हस्ताक्षर नक्कल गरेर आफ्नो प्रतिवेदन विद्यालयलाई बुझाएको पाइन्छ ।

यस्तो घटनाहरु १५-१६ बर्षका छोराछोरीहरुले आमा अथवा दाजु र दिदीहरुसँग गर्वका साथ सुनाएको देखिन्छ । आमाबुबा अथवा दाजुदिदीले गुरुहरुको हस्ताक्षर नक्कल गर्नु अपराध हो भनेर छोराछोरीलाई सजाय दिएको मैले देखे सनेको छैन। आज गुरुको हस्ताक्षर नक्कल गरेर परीक्षा पास गर्ने तपाइँको छोराछोरीले भविष्यमा गएर कुनै न्यायाधिसको हस्ताक्षर नक्कल गरेर कसै अन्याय गर्छ वा पैसा कमाउँछ भने ऊ कसरी दोषी भयो?

हस्ताक्षर नक्कली सम्वन्धी मैले धेरै घटनाहरु देखेको र भोगेको छु। दोस्रो व्यक्त्किो अथवा संस्थाको छाप नक्कल गर्नु अपराध हो भनेर पढेलेखेका र विद्वान भनिएका मानिसहरु पनि अनविज्ञ पाइयो। एकपटक एक जना मिल्ने साथीले मलाई बैंंकबाट ऋण लिनुपर्यो तपाई जमानी बसिदिनु पर्यो भन्नु भया। मैले लामो समयदेखि चिनजानको आधारमा हुन्छ भने। एक दिन दिउँसो २ बजे उहाँको फोन आयो लक्ष्मी बैंकमा आउनु पर्यो भन्नु भयो। म काठमाडौँ बाहिर भएको हुनाले मैले त्यस समयमा उपस्थित हुन नसक्ने जानकारी गराएँ । उहाँले मलाई सोध्नुभयो- म तपाईको हस्ताक्षर आफै गरिदिउँ ? मैले मिल्दैन भने। उहाँले भन्नु भयो केही पनि हुँदैन। म मेरो बुबाको हस्ताक्षर पनि आफै गरिदिन्छु । उहाँको कुरा सुनेर मलाई अचम्म लाग्यो। यो एक जना विद्यालयमा पढाउने प्राध्यापकको मनोदसा थियो ।

अर्को व्यक्त्तिको हस्ताक्षर नक्कल गर्नु वास्तवमा अपराध नै हो । तपार्इँले सामान्य सोचेर गरेको हस्ताक्षर नक्कलको घटनाले कसैको बिचल्ली हुनसक्छ। यो प्रकियाको ज्वलन्त उदाहरण म आफै हो।

२०७८ मंसिर तिरको घटना हो, मेरो बच्चा बिरामी परेकोले मलाई अस्पताल जानुपर्ने थियो। मसँग साथमा पैसा नभएकोले एटिएम मेसिनमा पैसा निकाल्न गएँ । तर मेसिनले मलाई पैसा निकाल्न अनुमति दिएन। म निराश भएर एक जना साथीलाई सबै कुरा बताएँ। अनि उहाँसँग दश हजार सापटी लिएर मैले छोरीलाई अस्पताल लिएर गएँ।

भोलिपल्ट म बैंकमा गएर सोधे किन मैले एटिएमबाट पैसा निकाल्न मिलिरहेको छैन? बैंकका कर्मचारीले भन्नु भयो- तपाइँलाई नेपाल राष्ट्र बैंकले कालो सूचीमा राखेको हुनाले तपाइँको खाता बन्द गरिएको छ।

यो कुरा सुनेर म अचम्ममा परेँ। मैले उहाँलाई सोधेँ-कसरी ? मैले त कुनै पनि बैंकबाट ऋण लिएको छैन। अनि म कसैको लागि जमानी पनि बसेको छैन। किन मलाई कालो सूचीमा राखियो त? ती कर्मचारीले भने-यस्तो कुरा हामीलाई थाहा हुँदैन।

त्यो अवस्थामा मेरो व्यक्तिगत जिन्दगीमा अनेकौँ समस्याहरु चलिरहेका थिए। त्यसैबीचमा बैंकले मलाई कालो सूचीमा राखिदियो । मलाई त कारण समेत थाहा थिएन। म एउटा चिया पसलमा बसेर बेस्सरी रोइरहेकी थिएँ । अब के गर्ने? मसँग कुनै उपाय थिएन। त्यसै समयमा मेरो नजिकै दुई जना मानिसहरु कुरा गरिरहेका थिए। उनीहरुको कुरा सन्दा मलाई एक जना मानिस वकिल हुन जस्तो लाग्यो। अनि मैले सोधेँ

मः हजुर वकिल हो?
अपरिचित व्यक्त्तिः हो ।
मः मलाई यस्तो समस्या परेको छ। म के गरौँ ?
अपरिचित व्यक्तिः कमलादीमा कर्जा सूचना केन्द्र छ। त्यहाँ गएर सोध्नु भयो भने कसले तपाईँलाई किन कालो सूचीमा राखेको हो भनिदिनु हुन्छ। मैले तीँ मान्छेलाई धन्यवाद दिएँ। अनि अर्को दिन बिहानै १० बज्ने बित्तिकै म कर्जा सूचना केन्द्र कमलादीमा पुगेँ। आफ्नो समस्या सुनाएँ। त्यहाँका कर्मचारीले मलाई सोधे-तपाईले कुनै बैंकबाट ऋण लिनु भएको छ।

मः छैन ।
कर्मचारीः तपाईको श्रीमानले लिनु भएको छ?
मः लिनुभएको थियो ।
कर्मचारीः कुन बैंकबाट लिनुभएको थियो।
मः माछापुच्छ्रे बैंक।
कर्मचारीः तपाई आफ्नो श्रीमानको लागि जमानी बस्नु भएको थियो?
मः थिएन।
कर्मचारीः तर तपाईलाई त माछापुच्छे बैंकले कालो सूचीमा राख्न सिफारिस गरेको हो।

म अचम्ममा परेँ मेरो र मेरो श्रीमानको सम्बन्ध विच्छेद भएको दुई बर्ष भएको थियो। उहाँ अमेरिकामा बस्नुहुन्थ्यो। म नेपालमा थिएँ। हाम्रो कुराकानी नभएको पनि दुई बर्ष भइसकेको थियो। ६ बर्ष पहिला मेरो श्रीमानले माछापुच्छ्रे बैंकबाट ऋण लिएको कुरा त मलाई थाहा थियो। दुई चार पटक त म आफै गएर पनि बैंकमा पैसा जम्मा गरिदिएको थिएँ। तर त्यो ऋण लिने बेलामा मलाई जमानी बनाइएको कुरा चाहिँ मलाई थाहा थिएन।

कर्जा सूचना केन्द्रका कर्मचारीको जानकारीपछि म भोलिपल्ट स्वयम्भु स्थित माछापुच्छ्रे बैंकको शाखा कार्यालमा पुगेँ र निर्दोष भएको लिखित जानकारी गराएँ । केहि समय पर्खिए पछि त्यस शाखाका तत्कालीन प्रबन्धकले मलाई माछापुच्छ्रे बैंकको प्रमुख कार्यालय लाजिम्पाटमा रहेको र मैले त्यहाँ गएर बज्राचार्य थरका कर्मचारीलाई भेट्ने सल्लाह दिनुभयो।

उहाँको सल्लाह बमोजिम अर्को दिन मैले सोही बैंकका कर्मचारीलाई भेटेर समस्याको बेलीविस्तार गरेँ। मेरो निवेदनपछि उहाँले एउटा फाइल खोजेर ल्याउनुभयो। र मलाई सोध्नुभयो- “यो तपाईँको नागरिकता हो कि हैन?”

त्यस फाइलमा मेरो नागरिकताको फोटोकपी, मेरो फोटो र हस्ताक्षर दुरुस्त थियो। मैले यो मेरो फोटो, नागरिकताको प्रतिलिपि र हस्ताक्षर मेरो अनुमतिबिना कसरी यहाँ आईपुग्यो मलाई थाहा छैन र यो फाइलमा भएको औठाछाप पनि मेरो होइन। यो औठाछाप मेरो हो कि हैन भनेर प्रमाणित गरिदिनुहोस् भनेँ।

बज्राचार्य ज्यूले मलाई भन्नु भयो- नेपालमा औँठाछापको प्रमाणीकरण गर्ने कुनै प्रविधि छैन। यदि तपाइँ निर्दोष हुनुहुन्छ भने अदालतमा गएर मुद्दा दर्ता गर्नुहोस् भन्नुभयो।

बैंकहरुको यो कस्तो दादागिरी? कसैको हस्ताक्षर, औंठाछाप वा नागरिकता पेश गर्दा उसको उपस्थिति नखोज्ने, तर मानिसको जीवन नै मुस्किलमा भने पारिदिने। यदि नेपालमा साच्चै नै औँठाछापको आधिकारीकता प्रमाणित गर्ने कुनै पनि उपाय छैन भने हरेक कार्यालयमा किन ल्याप्चे लगाउन लागाइन्छ ? बैंकमा, सहकारीमा, इस्योरेन्समा, अस्पतालमा, मालपोत कार्यालयमा जहाँ गए पनि कारोबार सम्पन्न गर्नका लागि औठाछाप लगाउनु पर्छ। त्यो किन?

त्यसपछि मैले सोधेँ मेरो नाम कालो सूचीबाट हटाउन मैले के गर्नुपर्यो ? अमित बज्राचार्य ज्यूले भन्नु भयो अब तपाइँका श्रीमानले लिएको ऋण ६ लाख बाँकी छ। त्यो पैसा तपाई आफैले तिर्नु भयो भने हामी नेपाल राष्ट्र बैंकलाई तपाईको नाम कालो सूचीबाट हटाउन अनुरोध गर्नेछौ। मेरो श्रीमानले मेरो जानकारी बिना मेरो फोटो र नागरिकताको दुरुपयोग गरेर निकालेको पैसा मैले तिर्ने कि नतिर्ने ?

मैले सम्बन्ध विच्छेद गरेको ३ वर्षपछि यस्तो जानकारी पाउँदैछु भने म कसलाई दुश्मन मान्ने?

भ्रष्टाचार त हरेक घरमा हुनेरैछ। हरेक सम्बन्धमा हुनसक्छ, हरेक कारोबारमा भ्रष्टाचार भइरहेको हुन्छ । आज देशमा हरेक दिन भ्रष्टाचारका ठूला–ठूला काण्डहरु सार्वजनिक हुने गरेका छन्। त्यी भन्दा पनि ठूला भ्रष्टाचार हाम्रा घरभित्र गुम्सिएका हुन सक्छन्। तिको उजागर कसले गर्ने। निराकरण कसरी हुने? कुनै दिन घरको दैलो कसैले घच्घच्यायो भने त्यो प्रहरी पनि हुनसक्छ।

सुन्दर र भ्रष्टाचाररहित समाजको कल्पना गर्नु छ भने आफ्नै घरबाट शुरु गरौँ।

(यो आलेख लेखकको व्यक्तिगत अनुभवमा आधारित छ)