Logo
१० पुस २०८१, बुधबार

४ वर्षदेखि बन्द रहेको कोरलानाका कार्तिक २७ गतेदेखि खुल्ने

अक्षरपाटी
२०८० कात्तिक २१ , मंगलबार ०१:११ मा प्रकाशित

२१ कात्तिक । नेपाल-चीन कोरलानाका कार्तिक २७ गते खुल्ला हुने भएको छ। यो सँगै ४ वर्षदेखि बन्द रहेको उत्तरी कोरलानाका आउँदो सोमबारदेखि खुल्ला हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणपछि चीनतर्फ अवरुद्ध रहेका नाका खोल्न पहल भएको थियो । यही मार्गअन्तर्गत नेपाल-चीन उत्तरी कोरलानाका औपाचारिक रुपले खुल्ला गर्ने तयारी भइरहेको हो ।

यसरी नाका खुल्ला गर्ने सुरुवाति चरणको पहिलो पटक जाँदा बोर्डर पाससहित सक्कल नागरिकताको प्रमाणपत्र समेत लिएर आउन चीन पक्षले सूचित गरेको छ ।

चीन पक्षले कोरलानाका खोल्ने निर्णय गरेसँगै उद्घाटन कार्यक्रमको पनि तयारी गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उद्घाटन कार्यक्रममा चीन पक्षबाट विशिष्ट व्यक्तिहरुको सहभागीता रहने उनले बताए । कोभिडपछि लामो समय बन्द रहेको कोरलानाका खुल्ला भएपछि स्थानीय व्यापारी,सर्वसाधारण र नेपाल सरकारलाई समेत व्यापारिक कारोवार र राजश्व संकलनमा टेवा पुग्ने अनुमान गरिएको छ ।

कोभिड तथा सुरक्षाका कारण चीनले बन्द गरेको उत्तरी कोरलानाका अब बाह्रै महिना खुल्ला हुनेछ । यो उपल्लो मुस्ताङका दुई गाउँपालिकाको हकमा मात्र कार्यान्वयन हुँनेछ । यसअघि बर्सेनि कोरलानाकाको तिब्बती भूमीमा चीन पक्षले अल्पकालिन व्यापार मेला सञ्चालन गर्ने गथ्र्यो ।

बर्सेनि असार र भदौ महिनामा तिब्बती भूमीमा किनमेलको हाट बजार लाग्थ्यो । सो बेला नेचुङ भन्सारले बर्सेनि १५ लाखसम्म राजश्व संकलन गथ्र्यो । नेपाल—चीन कोरलानाका बाह्रै महिना खुल्ला हुने भएपछि उपल्लो मुस्ताङीमा खुसीयाली छाएको छ ।

कोभिड अघि उपल्लो मुस्ताङीहरुले चीनको तिब्बती अल्पकालिन व्यापार मेलाबाट खाद्यान्न,निर्माण सामाग्री,लत्ताकपडा,कृषि उपकरण,इलेक्ट्रोनिक सामानका साथै भेडा च्यांग्रा आयात गरिन्थ्यो । नेपालबाट भने यार्सा गुम्बा,पस्मिना,स्थानीय कृषि उपज सामाग्री निर्यात हुन्थ्यो ।