काठमाडौं,२ फागुन । पश्चिमी वायुको प्रभावले देशभर बदली भएको छ । बदली भएसँगै चिसो महसुस पनि भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ ।
सुदूरपश्चिम प्रदेश बाहेक ६ वटै प्रदेशका एक–दुई ठाउँमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको बरिष्ठ मौसमविद वरुण पौडेलले जानकारी दिए । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताए ।
उनका अनुसार अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा कम बादल लागेको छ । बादल लागेकाले अधिकतम तापक्रममा गिरावट आउने सम्भावना पनि छ । अधिकतम तापक्रम घट्दा जाडो महसुस हुने मौसमविद पौडेलले बताए ।
आज रातिबाट आकाश खुल्दै जाने र पश्चिमी भूभागमा भोलि घाम पनि लाग्ने वरिष्ठ मौसमविद पौडेलले बताए । तर बागमती प्रदेशदेखि पूर्वतर्फ भने आज साँझसम्म पनि बादल कायमै रहने सम्भावना रहेको उनले बताए ।