


काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा निर्माण सम्पन्न भएको केदार सूर्य बहुमुखी क्याम्पसको अत्याधुनिक भवन उद्घाटन गरिएको छ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण भएको भवनले ग्रामीण क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तार र शैक्षिक पूर्वाधार सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
डोटीको बडीकेदार गाउँपालिकास्थित क्याम्पस भवनको भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
यसअघि श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसका नामले परिचित उक्त शिक्षालयलाई पुनः नामाकरण गरी केदार सूर्य बहुमुखी क्याम्पस बनाइएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा हाल स्नातक तहअन्तर्गत शिक्षा (बीएड) र व्यवस्थापन (बीबीएस) कार्यक्रम सञ्चालन भइरहेका छन्।
परियोजनाअन्तर्गत निर्माण गरिएको दुईतले भवनमा प्रत्येक तलामा सात–सात वटा कक्षाकोठासहित प्रशासनिक तथा अन्य आवश्यक सुविधा समावेश गरिएको छ।
बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको यस परियोजनाले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष साउद, क्याम्पस व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाले भारत सरकारको विकास साझेदारीप्रति आभार व्यक्त गर्दै नयाँ भवनले डोटीको शैक्षिक विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।
भारतीय दूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत हालसम्म नेपालका सातै प्रदेशका ७४ जिल्लामा करिब ६ सय परियोजना अघि बढाइएका छन्। तीमध्ये सुदूरपश्चिम प्रदेशमा मात्रै ४७ वटा तथा डोटी जिल्लामा चार वटा परियोजना सञ्चालनमा रहेका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रको सहयोगलाई निरन्तरता दिँदै भारत सरकारले डोटी जिल्लामा नौ वटा एम्बुलेन्स र तीन वटा विद्यालय बस उपलब्ध गराइसकेको छ।
सुदूरपश्चिम प्रदेशभर भने विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थालाई हालसम्म ७८ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।
नेपाल र भारतबीचको विकास साझेदारीलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यका साथ सञ्चालित यस्ता परियोजनाले पूर्वाधार विकास, शिक्षा तथा सामाजिक सेवाको पहुँच अभिवृद्धि गर्नुका साथै नेपाल सरकारको विकास र समृद्धिको अभियानलाई थप बल पुर्याइरहेको भारतीय पक्षको भनाइ छ।
भारतीय राजदूतावास

