Logo
१२ साउन २०८३, मंगलबार

‘बुकहिल ब्यालेड्स’मा गुन्जिने सत्य-स्वरूपका हजार सपना

अक्षरपाटी
२०८३ साउन १२ , मंगलबार ०५:०७ मा प्रकाशित

काठमाडौँ । प्रसिद्ध गायक तथा सङ्गीतकार सत्य-स्वरूप आचार्य तीन दशकभन्दा लामो साङ्गीतिक यात्राका सम्झना र कालजयी गीतहरूसहित दर्शकमाझ प्रस्तुत हुने भएका छन्।

बुकहिल पब्लिकेशनले आयोजना गर्दै आएको साङ्गीतिक शृङ्खला ‘बुकहिल ब्यालेड्स’को दोस्रो संस्करणमा उनीहरुले ‘सत्य-स्वरूप : हजार सपना’ शीर्षकको विशेष प्रस्तुति दिन लागेका हुन्।

कार्यक्रम भदौ ७ गते आइतबार (अगस्ट २३) काठमाडौंस्थित नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभेलियन हल’मा आयोजना हुनेछ।

कार्यक्रममा सत्य-स्वरूपले आफ्ना जीवनका आरोह–अवरोहका अनुभव, पिता तथा भजनशिरोमणि राष्ट्रगायक भक्तराज आचार्यसँग जोडिएका अविस्मरणीय स्मृतिहरू सुनाउँदै भक्तराज आचार्य र आफ्ना गरी करिब दुई दर्जन लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार कार्यक्रम केवल गीत–सङ्गीतमा सीमित रहने छैन। प्रत्येक गीतसँग जोडिएका कथा, सिर्जनाका प्रसङ्ग र जीवनका अनुभवलाई समेत समेटिने भएकाले यो प्रस्तुति शाब्दिक र साङ्गीतिक दुवै दृष्टिले विशेष रहने दाबी गरिएको छ।

नेपाली सङ्गीतमा अनुशासन, साधना र मौलिक गायन शैलीका लागि परिचित सत्य-स्वरूपले करिब तीन दशकदेखि गायन तथा सङ्गीत सिर्जनामा निरन्तर योगदान दिँदै आएका छन्। यस कार्यक्रममा उनीहरुलाई आठ सदस्यीय वाद्यवादक समूहले साथ दिनेछ।

साहित्य, सङ्गीत र संस्कृतिको प्रवर्द्धनमा सक्रिय बुकहिल पब्लिकेशनले हरेक दुई महिनामा ‘बुकहिल ब्यालेड्स’ आयोजना गर्दै आएको छ। आयोजकका अनुसार ६२० दर्शकका लागि सीमित टिकट व्यवस्था गरिएको छ भने टिकट बिक्री थुप्रै डटकममार्फत खुला गरिएको छ।

बुकहिल ब्यालेड्स