काठमाडौँ,१० जेठ । नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।
मन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल भइरहेको बताए । अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा आवश्यक काम कारबाही अगाडि बढाउनेछ । टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका सन्दीपलाई बुधवार अमेरिकी दूतावासले अन्तरवार्तामा बोलाएर भिसा दिन अस्वीकार गरेको थियो ।