



नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी–व्यवसायीलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न आह्वान गरेका छन्।
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शनिबार नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसङ्घ (सीआईआई) मुख्यालयमा आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसरबारे धारणा राखेका हुन्।
सीआईआईले आयोजना गरेको उक्त उच्चस्तरीय छलफल शनिबार बिहान साढे ९ बजे सुरु भएको हो। सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा भइरहेको कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी छन्।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण, सम्भावित क्षेत्र तथा सरकारले अघि बढाइरहेका आर्थिक सुधारबारे भारतीय उद्योगपतिलाई जानकारी गराएको बताइएको छ। साथै, नेपालमा नयाँ लगानी भित्र्याउन र हाल लगानी गरिरहेका भारतीय लगानीकर्तालाई आफ्नो लगानी विस्तार गर्न आग्रह गरिएको छ।
अर्थमन्त्रीले लगानीकर्ताको विश्वास बढाउन आवश्यक कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताका विषयमा नेपाल सरकारको धारणा समेत स्पष्ट परेका छन्।
नेपाल र भारतबीच आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले हुने छलफलमा भारतीय निजी क्षेत्रका करिब दुई दर्जन उद्योगपति सहभागी भएको सीआईआईले जनाएको छ।
छलफलमा सीआईआईका पूर्वअध्यक्ष तथा आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित विभिन्न क्षेत्रका प्रमुख उद्योगी तथा व्यवसायीको सहभागिता रहेको छ। अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा आर्थिक कूटनीति र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइएको छ। भारतीय लगानीकर्तामार्फत नेपालमा थप पूँजी, प्रविधि र रोजगारी भित्र्याउने सम्भावनाबारे समेत छलफल भइरहेको छ।
नेपालका ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, उत्पादन तथा अन्य सम्भावित क्षेत्रमा भारतीय लगानीको सम्भावना रहेको अवस्थामा अर्थमन्त्रीको उद्योगीहरूसँगको छलफललाई दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले

