



झापा । झापाको बाह्रदशी गाँउपालिकामा बेथितीको चाँङ चुलिएको छ।
कर्मचारी नियुक्तिमा जनप्रतिनिधि र प्रशासकिय अधिकृत मिलेर न्युनतम मापदण्डको समेत धज्जी उडाएका छन् । चालू आर्थिक बर्षमा भएका दर्जन बढि नियुक्ति विवादमा परेका हुन्।
पहुँचकै आधारमा वडा नम्बर ४ का वडाध्यक्ष महताव आलमले छोरी दिलकसी खातुनलाई फार्मेसी सुपरभाईजर बनाएका छन्।
वडा नम्बर तीनका वडा सदस्य पुने प्रसाद ढुङ्गेलले छोरी बिन्दा ढुङ्गेललाई मनोसामाजिक परामर्शदाताको जागीर खुवाएका छन्।
एमआइएस अपरेटर भेषराज खतिवडा पूर्व प्रशासकिय अधिकृत जनार्दन निरौलाको जेठान हुन भने नियुक्तिकै जागीर खाने लक्ष्मी बस्नेत काँग्रेस बाह्रदशी सभापती इन्द्र ब बस्नेतको बुहारी हुन्।
कम्प्युट अपरेटरमा कर्मचारी बनेर आएकी युनिका खत्री जिन्सी शाखा प्रमुख सन्जय घिमिरेको श्रीमती हुन्।
राजमणि खतिवडा सहायक कम्प्युटर अपरेटरमा नियुक्त भएका छन्। उनी लेखा अधिकृत भेसराज निरौलाको सालो हुन।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हालै भएको सरुवासँगै गाउँपालिकामा विगतमा भएका कर्मचारी नियुक्ति तथा सरुवा प्रक्रियामाथि नागरिकस्तरबाट प्रश्न उठ्न थालेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत बहालमा रहँदा जनप्रतिनिधिका आफन्त तथा नजिकका व्यक्तिहरूलाई करारमा नियुक्ति गरिएको, साथै पछिल्लो समय भएको प्रधानाध्यापक नियुक्ति प्रक्रियामा आर्थिक चलखेल भएको भन्ने गुनासो स्थानीयस्तरमा व्यापक रूपमा उठेको छ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा भई नयाँ अधिकृत आउने तयारीसँगै अहिले स्थानीय नागरिकमा एउटा मुख्य प्रश्न उठेको छ, यसअघि भएका नियुक्ति, करार सम्झौता तथा सरुवा प्रक्रियाको निष्पक्ष र स्वतन्त्र छानबिन हुन्छ कि हुँदैन?
नयाँ प्रशासनिक नेतृत्व आएपछि विगतका निर्णय तथा प्रक्रियाहरूको आवश्यक कागजात, मापदण्ड र प्रक्रियागत आधारमा समीक्षा हुनुपर्ने आवाजसमेत उठ्न थालेको छ।
विशेषगरी नियुक्ति प्रक्रियामा कुनै अनियमितता वा स्वार्थको प्रभाव परेको भए त्यसको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने नागरिकको माग छ।
यस विषयमा गाउँपालिका, सम्बन्धित प्रशासनिक निकाय तथा निगरानी गर्ने निकायहरूले नागरिकस्तरबाट उठेका गुनासोलाई गम्भीरतापूर्वक लिई आवश्यक छानबिन गर्ने र तथ्य सार्वजनिक गर्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।
गत आबमा पालिकामा कुकुर बन्ध्याकरणका नाममा समेत लाखौ रुपैयाँ हिनामिना भएको आरोप पालिका नेतृत्वमाथि लाग्दै आएको छ।
केही दर्जन कुकुरलाई बन्धाकरण गरि २७ लाख रुपैयाँ खर्च गरेको भन्दै स्थानीयले त्यसको स्वतन्त्र छानबिनको माग गरेका छन्।
बाह्रदशी गाउँपालिका

