काठमाडौं,२१ असार । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । शुक्रबार सार्वजनिक नतिजाअनुसार लेबर पार्टीले बहुमतको आँकडा पार गरेको हो । लेबर पार्टीले ६५० मध्ये ४०० बढी सिट जितेको छ । विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४०० भन्दा बढी सीट जितेको हो । यूकेको संसद्मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ ।
२०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका ऋषि सुनकको कन्जरभेटिभ पार्टीले हालसम्म ११९ सिट मात्र जितेको छ । निर्वाचनमा लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता ऋषि सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका छन् । उनले लेबर पार्टीको नेतृत्व गरेका केयर स्टारमरलाई फोन गरेर जितको लागि बधाई पनि दिएका छन् ।
बीबीसीका अनुसार स्टारमर अब बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । स्टारमरलाई जेरेमी कोर्बिनको स्थानमा २०२० मा लेबर पार्टीको नयाँ नेता चुनिएको थियो ।
स्टारमरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रस सिट जितेका छन् । स्टारमर ६१ वर्षका भए । यसअघि जेरेमी कोर्बिनले बेलायतमा विपक्षी लेबर पार्टीको नेतृत्व गर्दै आएका थिए । पेशाले वकिल रहेका स्टारमर सन् २०१५ मा पहिलो पटक सांसद बनेका थिए ।
एउटै दलले बहुमत सीट हासिल गरेको अवस्थामा यूकेमा सप्ताहान्तअघि नै नयाँ प्रधानमन्त्री नियुक्त हुने ठानिएको छ ।