Logo
२९ साउन २०८३, शुक्रबार

दल दर्ताअघि नै टुट्यो दुर्गा–धवल सहकार्य

अक्षरपाटी
२०८३ साउन २९ , शुक्रबार १२:०८ मा प्रकाशित

काठमाडौं । डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईंबीचको राजनीतिक सहकार्य निर्वाचन आयोगमा दल दर्ता नहुँदै भंग भएको छ। दुई पक्षबीच पार्टी नेतृत्वमा अधिकार बाँडफाँट र दल दर्ताको समयसीमालाई लिएर सहमति जुट्न नसकेपछि उनीहरू अलग भएका हुन्।

राणा र प्रसाईं पक्षले यसअघि ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति गरेका थिए। सहमतिअनुसार राणा सभापति र प्रसाईं सर्वोच्च नेता रहने भनिएको थियो। तर, दल दर्ताको प्रक्रिया अघि बढाउने क्रममा दुवै पक्षबीच विवाद उत्पन्न भएपछि सहकार्य टुंगिएको हो।

राणा पक्ष आजै निर्वाचन आयोग पुगेर दल दर्ता गर्ने तयारीमा छ। यता, प्रसाईं पक्षले कलंकीस्थित शिखर पार्टी प्यालेसमा छुट्टै कार्यक्रम आयोजना गर्दै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। प्रसाईं निकट माधव कल्पितले दुवै पक्षबीच सहमति नजुटेपछि छुट्टै राजनीतिक दल गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

कल्पितका अनुसार प्रसाईं पक्षले भदौ ५ गतेलाई दल दर्ताका लागि उपयुक्त समय मानेर त्यसबेलासम्म पर्खन आग्रह गरेको थियो। तर, राणा पक्ष तत्कालै दल दर्ता गर्ने तयारीमा अघि बढेपछि सहकार्य कायम रहन सकेन।

उनले लघुवित्त, बैंक तथा वित्तीय संस्थाका पीडितहरू काठमाडौंमा आन्दोलनका लागि आइरहेको अवस्थामा उनीहरूको समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने प्रसाईं पक्षको धारणा रहेको बताए।

‘हाम्रो ध्यान गरिब निमुखा जनता बचाऔं भन्ने हो। लघुवित्त र बैंक पीडितहरू खाली खुट्टा काठमाडौं आइरहेका छन्। उनीहरूलाई पर्खौं भनेको मान्नुभएन,’ कल्पितले भने, ‘आफैंले नेता बनाएर दल दर्ता गर्ने काममा लाग्नुभयो। हाम्रो ध्यान नागरिक बचाउनमा छ।’

प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत छुट्टै राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले गरिबीको रेखामुनि रहेका सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडित, भूमिहीन तथा सुकुम्बासीसँगै लघुवित्त, सहकारी, बैंक र मिटरब्याजीको चर्को ब्याजका कारण घरबार गुमाएका नागरिकका समस्या समाधानलाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राख्ने बताएका छन्।

प्रसाईंले अब गठन हुने पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने दाबी गरेका छन्। उनले वैदिक सनातनी हिन्दु अधिराज्यसहितको राजनीतिक व्यवस्थाको पक्षमा आफूहरू रहने र पीडित, शोषित तथा उत्पीडित नागरिकको हक, अधिकार र न्यायका लागि पार्टी समर्पित हुने बताएका छन्।

यसअघि नयाँ पार्टीको विधान तयार गर्न संयोजक तोकिएका माधव कल्पितले दुई दिनअघि विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका थिए।

यता, राणा पक्षका एक नेताका अनुसार विवादको मुख्य कारण पार्टी नेतृत्वको अधिकारलाई लिएर थियो। उनका अनुसार प्रसाईंले निर्वाचनका बेला उम्मेदवारको मनोनयन तथा हस्ताक्षर प्रक्रियामा समेत अधिकार पाउनुपर्ने माग राखेका थिए।

‘निर्वाचनको बेला उम्मेदवारमा हस्ताक्षर गर्न पाउनुपर्ने माग उहाँले राख्नुभयो। सभापतिको अधिकार सबै लिन खोजेपछि सहमति जुट्न सकेन,’ राणा पक्षका ती नेताले भने।

यससँगै निर्वाचन आयोगमा संयुक्त रूपमा नयाँ दल दर्ता गर्ने दुर्गा प्रसाईं र धवलशमशेर राणाको योजना दल दर्ताको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै टुंगिएको छ। अब दुवै पक्षले छुट्टाछुट्टै राजनीतिक दल गठन गरी अघि बढ्ने तयारी गरेका छन्।

डा. धवलशमशेर राणा दुर्गा प्रसाईं