


काठमाडौं । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत पुर्याइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक उपकरण नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बडीमालिका क्षेत्रमा पुर्याएको हो।
भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण लैजान कठिन भएपछि हेलिकप्टरबाट ढुवानी गरिएको हो। सञ्चारमन्त्री तिमिल्सिनाले साउन ८ गते नै नेपाल टेलिकमलाई बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनपछि मन्त्रालयले नेपाल टेलिकमसँग समन्वय गर्दै उपकरण ढुवानी, पूर्वाधार निर्माण तथा जडान प्रक्रियालाई तीव्रता दिएको थियो। यस क्रममा बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग समेत आवश्यक स्थान, स्थानीय सडकको अवस्था तथा स्थानीय तहबाट हुन सक्ने सहयोगबारे छलफल गरिएको थियो।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा ढिलाइ भएको हो। टेलिकमले साउन १८ गतेदेखि नै सामग्री बडीमालिका पुर्याउने प्रयास गरे पनि मौसम अनुकूल नहुँदा उडान हुन सकेको थिएन।
मौसम खराब भएपछि जडानस्थलमा खटाइएको प्राविधिक टोलीसमेत फिर्ता बोलाउनुपरेको शर्माले बताए।
मंगलबार हेलिकप्टरबाट सामग्री तोकिएको स्थानसम्म पुर्याइए पनि त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत बोकाएर लैजानुपर्ने अवस्था रहेको उनले जानकारी दिए।
उच्च हिमाली क्षेत्रमा उपकरण ढुवानीसँगै आवश्यक जनशक्ति व्यवस्थापनसमेत चुनौतीपूर्ण रहेको शर्माको भनाइ छ। सामग्री जडानस्थलसम्म पुर्याउने, उच्च उचाइमा काम गर्न सक्ने प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने तथा स्थानीय तहबाट आवश्यक सहयोग जुटाउने विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको उनले बताए।
सामग्री जडानस्थलमा पुगेपछि करिब पाँच दिनभित्र सेवा सञ्चालनमा ल्याउन सकिने टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिका क्षेत्रमा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो। प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने तयारी भए पनि प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र उपकरण ढुवानीमा देखिएको कठिनाइका कारण निर्धारित समयभन्दा केही ढिलाइ हुने भएको हो।
बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको छ। धार्मिक तथा पर्यटकीय गतिविधि बढ्दै गए पनि उक्त क्षेत्रमा भरपर्दो टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध हुन सकेको थिएन।
सञ्चार सेवाको अभावमा स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई सम्पर्क र सूचना आदानप्रदानमा समस्या हुँदै आएको थियो।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ। दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार गर्ने योजनाअनुसार उच्च हिमाली क्षेत्रमा समेत आधुनिक दूरसञ्चार सेवा पुर्याउने काम अघि बढाइएको टेलिकमले जनाएको छ।
बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको टेलिकमले जनाएको छ। पर्यटकीय गतिविधि बढिरहेका उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक प्राविधिक तथा भौगोलिक अध्ययन भइरहेको छ।
यसअघि नेपाल टेलिकमले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा करिब ३ हजार ९०० मिटरको उचाइमा ४जी सेवा सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब ३ हजार ४०० मिटरको उचाइमा समेत ४जी सेवा सुरु भइसकेको छ।
सरकारले दुर्गम, ग्रामीण तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ। भौगोलिक विकटताका कारण सञ्चार सेवाबाट वञ्चित क्षेत्रलाई राष्ट्रिय सञ्चार सञ्जालमा जोड्ने तथा डिजिटल विभाजन घटाउने उद्देश्यले मोबाइल तथा इन्टरनेट सेवाको पहुँच विस्तारलाई तीव्रता दिइएको हो।
देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि हाल करिब १ हजार ६ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार, क्षमता वृद्धि र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।
बडीमालिका बाजुरा

