कैलाली, २३ असार । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ। कैलाली कञ्चनपुरको कयौँ बस्ती डुबानको चपेटमा परेका छन् ।
महाकाली कर्णाली, मोहोना तथा कन्द्रा लगायताका नदीमा पानीको सतह बढ्दै गइरहेका छन्। जसका कारण नदी तटीय बस्ती अझै जोखिममा पर्ने जनाइएको छ। पहाडी जिल्लामा निरन्तर पहिरो गइरहेको छ । पहिरोका कारण सडक यातायात अवरुद्ध भएको छ ।
सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पहिरोले डोटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् ।
सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) रवीन्द्र केसीले दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको बताए ।
डिआईजी केसीका अनुसार ठूलो पहिरो नखसेकोले यथाशीघ्र पहिरो हटाएर सडक यातायात सुचारु गर्न काम पनि जारी छ ।
डडेल्धुराको रडुवामा पहिरो खसेका कारण डडेल्धुरा डोटी सडक केही समय अवरुद्ध भए पनि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।
पहाडी जिल्लाका ग्रामीण सडकहरू समेत बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् ।
आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर-जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
बझाङको बाहुली गाडमा आएको बाढीले सदरमुकाम चैनपुर नजिकको पुरानो बसपार्क छेउमा कटान सुरु गरेको छ ।
यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोको जोखिममा परेका दार्चुलाको मार्मा गाउँपालिका-२ का १० परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।
अछामको चौरपाटी गाउँपालिका-६ का ९ परिवार र मंगलसेन नगरपालिका-८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
डिआईजी केसीले केही ठाउँमा पहिरोको जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिए पनि हालसम्म मानवीय तथा क्षति भने भएको छैन।