Logo
९ पुस २०८१, मंगलबार

पहिरोमा परेका दुई बस त्रिशूली र नारायणीमा खोजिँदै

अक्षरपाटी
२०८१ असार २८ , शुक्रबार ११:०७ मा प्रकाशित

काठमाडौं,२८ असार । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण दुइटा बस त्रिशूली नदीमा खसेका छन्।

गए राति साढे ३ बजे भरतपुर महानगरपालिका-२९ सिमलतालमा सडक माथिबाट खसेको पहिरोसँगै बस त्रिशूली नदीमा खसेका हुन्।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेका थिए।

एउटा बसमा ४२ र अर्कोमा २४ जना यात्रु भएको बताइएको छ। घटनास्थलमा तीनवटै सुरक्षा निकायका गरी ७५ जनाभन्दा बढी खटिएका छन्।
बस खोज्न गोताखोर टोली समेत परिचालन भएका छन्।

नदीमा बाढी आएका कारण खोजी कार्यमा समस्या भएको छ। त्रिशूलीसँगै नारायणीमा पनि खोजी कार्य सुरु गरिएको छ।