काठमाडौँ,८ साउन। रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको सचिवालयले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन रकम उठाएको जिकिर गरेका छन् ।
आफूले गरेको आन्तरिक छानबिनका क्रममा एक जना पीडित महिलाले उपसभामुखको सचिवालयलाई ९ लाख रुपैयाँ बुझाएको पाइएको ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बताएका हुन् ।
उनले आफूलाई गत वैशाख ४ गते सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठमार्फत उपसभामुखको सचिवालयले आर्थिक चलखेल गरेको विषय सहितको सूचना आएको बताएका छन् । श्रेष्ठले ढकाललाई सूचना पठाउँदा पार्टीका एक जना पालिका सभापतिसँग गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाएको ढकालको भनाइ छ ।
‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई ‘तपाईँले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् । ९ लाख रुपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ’, ढकालले भनेका छन् ।
ढकालले यसबारे आफूले उपसभामुखलाई जति सोध्दा पनि ‘थाहा छैन’ भन्ने जवाफमात्रै दिएको बताएका छन् । ‘उपसभामुखको मात्र होइन, ‘थाहा छैन’ भन्ने रोग पार्टीमा सङ्क्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु’, ढकालको भनाइ छ ।