Logo
३० साउन २०८३, शनिबार

कञ्चनपुरमा महिलाको ज्यानलिने बाघ निकुञ्जको नियन्त्रणमा

अक्षरपाटी
२०८१ साउन १८ , शुक्रबार ०१:०८ मा प्रकाशित

धनगढी,१८ साउन । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा बिहीबार एक महिलाको ज्यान लिएको बाघलाई शुक्रबार नियन्त्रणमा लिइएको छ।

शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको जनाएको छ।

बिहीबार दोधाराचाँदनी नगरपालिका- २ मा बाघको आक्रमणबाट २३ वर्षीया हीरा शाहको मृत्यु भएको थियो।

हिराको ज्यान लिएको पाटेबाघ बुधबारदेखि नै सोही स्थानमा घुमिरहेको बताइन्छ। राष्ट्रिय निकुञ्जको टोलीले सो बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए।

सूचना अधिकारी ऐरले अहिले बाघ बेहोस अवस्थामा रहेको छ। बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हेडक्वार्टरमा चिकित्सकको टिमले चेकजाँच गर्ने बताए।

महिलाको ज्यान लिएको घटना लगत्तै निकुञ्जको टोलीले बिहीबार दिनभरी नियन्त्रणमा लिने प्रयास गरेको थियो।

बाघ समात्न निकुन्जको हात्ती पनि परिचालन गरिएको थियो।