Logo
७ पुस २०८१, आईतबार

निरन्तरको झरीले काठमाडौं जलमग्न, सतर्कता अपनाउन आग्रह

अक्षरपाटी
२०८१ साउन २२ , मंगलबार १२:०८ मा प्रकाशित

काठमाडौं,२२ साउन । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।

काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ ।

स्वयम्भुको सानो भर्‍याङ र ठूलो भर्‍याङ क्षेत्र पनि प्रभावित भएको छ । रामशाहपथस्थित सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ ।

काठमाडौंमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरु जलमग्न हुने गरेका छन् । वर्षाका कारण काठमाडौंको बागमती लगायतका नदी र खोलाहरुमा बाढी आएको छ । हनुमन्ते खोलाको जगाती, खोड्कु खोलाको झरुवा रासी, बागमती नदीको खोकना बाढी मापन केन्द्रमा बाढीको सतह चेतावनीको तहसम्म पुगेको छ । बाढी बढ्दो क्रममा रहेकाले खोला किनार क्षेत्रमा नजान जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

सप्तरीको बलान नदी, चितवनको शक्तिखोर र पूर्वी नवलपरासीको समेरी क्षेत्रमा क्षेत्रमा पनि भारी वर्षा भएको छ । वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ र बेनी-जोमसोम सडक अवरुद्ध छन् ।