Logo
२ असोज २०८१, बुधबार

यती एअरलाइन्सले हासिल गर्यो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड

अक्षरपाटी
२०८१ साउन ३० , बुधबार ०२:०८ मा प्रकाशित

काठमाडौं,३० साउन । यती एअरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को मानक सुरक्षा कार्यक्रमको मापदण्ड (आईएसएसए) हासिल गरेको छ ।

उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्र प्रदान गरिन्छ ।

यस विषयमा यती एअरलाइन्सका सीईओ सुभाष सापकोटाले भने,’आईएसएसएको प्रमाण–पत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौं । हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धी हो । यस उपलब्धीले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ, साथै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

आईएसएसए कार्यक्रमले प्रमाण–पत्र प्रदान गर्नुपूर्व एअरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्छ । विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एअरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो ।

आईएटीएद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाण–पत्र यती एअरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो ।

यती एअरलाइन्स सन् २०१६ देखि नै आईएसएसए अपरेटरको रुपमा दर्ता हुँदै आइरहेको छ ।