Logo
२९ वैशाख २०८२, सोमबार

योगीको ‘बोल्ने कोही छैन’ सार्वजनिक

अक्षरपाटी
२०८१ साउन ३२ , शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौं । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ मा समावेश गीत ‘बोल्ने कोहि छैन’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा केहि थोरै फिल्मका दृश्यहरु पनि देखाइएको छ ।

निर्माण टिमले यस लिरिकल गीतमार्फत फिल्म कुन कथामा निर्माण भएको भन्ने कुरा देखाउने प्रयास गरेको छ ।

चर्चित तथा स्थापित गायक शिशिर योगीको आवाज तथा म्युजिक, कवि अर्जुन पराजुलीको शव्द, विवी अनुरागीको एरेन्जमा यो गीत तयार भएको हो । विभिन्न फिल्म फेस्टिवल तथा विशेष शो सकिएपछि ‘रित्तो गाउँ’ कुनै ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

यस फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । डकुमेन्ट्री पार्टमा भने देशभरका विभिन्न घटना र दृश्य देखाइएको छ ।

रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ’रित्तो गाउँ’ ले युवा पलायनले रित्तिंदै गएको गाउँको कथा प्रस्तुत गर्छ ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्स प्राइभेट लिमिटेडले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् ।

कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन् ।

निरज कंडेलको छायांकन, नहकुल खड्काको सम्पादनमा तयार फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइन भरत कंडेलको रहेको छ ।

केहि समय अघि काठमाडौंमा भएको विशेष प्रदर्शनमा सहभागी दर्शक तथा अतिथीले यस फिल्मलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् ।