Logo
२९ भदौ २०८३, सोमबार

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

अक्षरपाटी
२०८३ असार ७ , आईतबार ०६:०६ मा प्रकाशित

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले भारतसँगको सीमा विवाद समाधानका लागि ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजिएको भन्ने टिप्पणी गलत रहेको बताएका छन्।

उनले नेपालसँग कालापानी–लिपुलेक क्षेत्रबारे पर्याप्त ऐतिहासिक प्रमाण रहेको दाबी गर्दै छिमेकी मुलुकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गरिने स्पष्ट पारे।

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आफूले व्यक्त गरेको भनाइबारे स्पष्टीकरण दिएका हुन्।

‘हामीसँग कालापानी र लिपुलेकका प्रमाण छन्। आवश्यक परे ब्रिटिस शासनकालका अभिलेख र प्रमाण पनि प्रस्तुत गर्न सक्छौँ भनेका हौँ,’ उनले भने, ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ।’

उनले नेपाल आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट रहेको उल्लेख गर्दै सीमा विवाद तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा समाधान गर्न प्रतिबद्ध रहेको बताए।

‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर समस्या समाधान गर्छौँ। हामीसँग प्रमाण छ,’ उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि शंका गर्नुपर्ने कारण छैन।’

उनले आफ्नो नेतृत्वको सरकार विधि र पद्धतिकै बाटोमा हिँडिरहेकाले कसैले चिन्ता लिनु नपर्ने बताए। उनले विगतका गल्ती र कमजोरीलाई सच्याउन, राज्य दोहनका दोषीहरूलाई कारबाही गर्न अख्तियारलाई पाँच घण्टा मात्र होइन पाँच वर्षसम्म पनि सोधपुछ गर्न सकिने स्पष्ट पारे।

आफ्नो गाडी द्रुत गतिमा हिँडेको भन्दै- प्रधानमन्त्री बालेनले भने- हामी स्पिडमा छौँ, बरालिएका छैनौँ। गन्तव्यमा पुगेर मात्रै ब्रेक लाग्छ।’

बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )