



काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन्।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल–युएई सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकतासहित विभिन्न विषयमा छलफल भएको हो।
भेटका क्रममा सभामुख अर्यालले युएई नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले युएई जाने नेपाली नागरिकका लागि भिसा प्रक्रियामा प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने व्यवस्थालाई पुनर्विचार गरी सहज बनाउन आग्रह गरे। साथै नेपाल सरकारले हालै अघि सारेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, डिजिटाइज्ड तथा नागरिकमैत्री बनाउने दिशामा काम भइरहेको जानकारी दिए।
सभामुख अर्यालले नेपाल लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने दिशामा अघि बढिरहेको उल्लेख गर्दै युएईको ‘भिजन २०३१’ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरे।
उनले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालनको स्वीकृति प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनको सम्भावनाबारे पनि सकारात्मक पहल गर्न अनुरोध गरे।
सभामुख अर्यालले प्रतिनिधिसभाले हालै संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै यसले दुवै देशका संसदबीच भ्रमण, अनुभव आदान–प्रदान तथा संसदीय अभ्यासको साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
भेटमा राजदूत अल शम्सीले नेपाल–युएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन युएई सरकार सकारात्मक रहेको बताए।
उनले नेपालसँगको सहकार्य विस्तार गर्दै पारस्परिक हितका क्षेत्रमा थप अवसरहरूको खोजी गरिने विश्वास व्यक्त गरेका थिए।
अब्दुल्ला जरवान अल शम्सी डीपी अर्याल भेटवार्ता


