Logo
२५ असोज २०८१, शुक्रबार

भारतमा तनाब : बस चालकले पनि लगाउन थाले हेलमेट

अक्षरपाटी
२०८१ भदौ १२ , बुधबार १२:०८ मा प्रकाशित

काठमाडौं,१२ भदौ । सामान्यतया मोटरसाइकल चालकले लगाउने हेलमेट बस चालकले पनि प्रयोग गर्न थालेका छन् ।

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीले बुधबार १२ घण्टे आमहड्ताल घोषणा गरेको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बन्द आह्वान गरिएका कारण सवारी साधन, बजार बन्द छन् ।

पश्चिम बंगाल सरकारले बन्दका बाबजुद सवारी आवागमन सञ्चालन गराउन सरकारी बसका चालकलाई हेलमेट दिएको हो । ढुंगामुढा भइहालेको खण्डमा चालकको टाउकोमा चोट नलागोस् भन्ने उद्देश्यले हेलमेट लगाउन भनिएको हो ।

केही दिनअघि एक महिला डाक्टरको बलात्कार र हत्या भएको घटनाबारे पश्चिम बंगालमा राजनीतिक आरोप–प्रत्यारोप चर्किएको हो । मंगलबार राज्य सरकारको विरोधमा र्याली आयोजना भएको थियो । उक्त ¥यालीमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको विपक्षीको आरोप छ ।

राज्य सरकारविरोधी प्रदर्शनकै क्रममा बुधबार भारतीय जनता पार्टीले बन्द आह्वान गरेको हो । बन्दका क्रममा विभिन्न स्थानमा झडप तथा आगजनी भएको बताइएको छ । बन्दकर्ताले रेल सेवासमेत अवरुद्ध तुल्याएका छन् । भारतीय जनता पार्टीले आफ्ना २०० भन्दा धेरै कार्यकर्ता पक्राउ परेको जनाएको छ ।