काठमाडौं, १३ भदौ । गोरखाको गण्डकी गाउँपालिकामा तरकारी खेतीमा विषादी प्रयोग गर्दा त्यसले किसानको स्वास्थ्यमा समस्या देखिएको घटना सार्वजनिक भएकोले अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गण्डकी गाउँपालिकाका केही वडाहरूमा किसानको स्वास्थ्यमा समस्या देखिएकोले अध्ययनका गर्न पाँच सदस्यीय कार्यदल गठन गरेका हुन्।
गण्डकी गाउँपालिकाका प्राय सबै वडामा व्यावसायिक तरकारी खेती गरिँदै आइएको छ। तरकारी खेती गर्ने किसानहरूमा स्वास्थ्य समस्या देखिएको पाइएको भन्दै गोरखाको दरौंदी दैनिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो।
यसबारे अध्ययन गर्न मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरेको उनको सचिवालयले जानकारी दिएको छ।
गण्डकी गाउँपालिकाका तरकारी खेती गर्दै आएका ६१ जनालाई क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको खबर प्रकाशित भएको थियो।
प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको हो।
नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक डा. काशीनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत रिजन कार्की, केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनार, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्ट सदस्य रहेको कार्यदल बनाइएको हो।
मन्त्रालयमा भदौ ११ गते बसेको बैठकले कार्यदल बनाउने निर्णय गरेको हो। विषादी दुरूपयोगसम्बन्धी समस्याबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न उक्त कार्यदललाई भनिएको छ।
कार्यदलले स्थलगत अध्ययन तथा अनुसन्धान गरी वास्तविक अवस्थासहितको प्रतिवेदन बुझाउनेछ।