काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश संरचना खारेजीको अडानबाट पछि हट्ने भएको छ । नेपालको संविधानको भाग ५ मा उल्लेखित राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड प्रावधान अनुसार नै अघि बढ्नेगरी रास्वपाले लिखित दस्तावेज ल्याउन लागेको हो ।
मङ्गलबार (आज) बाट काठमाडौंमा शुरू राष्ट्रिय परिषद् भेलापछि सो पार्टीका नेताहरूले मुलुकको सर्वोच्च र कार्यकारी पदबारे पनि नयाँ रोडम्याप अघि सार्न लागिएको जानकारी दिएका छन् ।
नेपालको संविधानको भाग ५ मा उल्लेखित राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड प्रावधानलाई अबलम्बन गर्ने, भाग ६ मा उल्लेखित राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था एवम् भाग १३ मा उल्लेखित प्रदेश कार्यपालिकाको विद्यमान व्यवस्था हेरफेर प्रस्तावसहित सो पार्टीले प्रतिवेदन तयार गर्न लागेको हो ।
पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार सो पार्टीले प्रदेश संरचना खारेज गर्नुपर्ने एजेण्डा सच्याएर प्रदेशमा एकजना मुख्यमन्त्री र केही मन्त्रालयहरू मात्र रहनुपर्ने प्रस्ताव प्रतिवेदनमा समेट्दैछ । रास्वपाले एक प्रदेशमा आवश्यकता अनुसार चारवटादेखि पाँचवटा मात्रै मन्त्रालय राख्न आवश्यक ठानेको छ ।