काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर सर्टलिस्टमा परेका तनि जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता दिन अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले पुनः बोलाएको छ ।
यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका तीन जना उम्मेदवारलाई समितिले असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको हो । जसमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईँ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका छन् ।
यसअघि बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले पाँच जनाको नाम तयार पारेको थियो । सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तवार्ता दिइसकेका छन् । तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा तीन जना उम्मेदवार सहभागी नभएपछि समितिले नाम सिफारिस गर्न सकेको थिएन ।
त्यसपछि सरकारले नियुक्तिका लागि नयाँ प्रक्रिया शुरु गर्ने तयारी गरेको थियो । तर सर्वोच्चले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न बाटो खुला गरेपछि सरकारले पुनः प्रक्रिया अघि बढाएको हो ।