Logo
२४ मंसीर २०८१, सोमबार

मनाइयो कुकुर तिहार

अक्षरपाटी
२०८१ कात्तिक १५ , बिहीबार ०२:१० मा प्रकाशित

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खान दिएमा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेकाले आज कुकुरको पूजा गरी मिठो खान दिने परम्परा रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा स्थापित भएको छ। तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए। आजै साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ।

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार यस वर्ष मङ्गलबारदेखि सुरु भएको हो। यमपञ्चकको पहिलो दिन मङ्गलबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो। दोस्रो दिन बुधबार सन्देशवाहकका रूपमा कागको पूजासहित मिठा खानेकुरा खान दिई मनाइएको छ। आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो। सोही दिनको साँझदेखि यम दीपदान पनि सुरु भएको छ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ। चौथो दिन शुक्रबार यस वर्ष तिहारका कुनै पर्व परेको छैन। पाँचौँ दिन शनिबार गाई पूजा गरिँदै छ। यसै दिन गोवर्द्धन पूजा, हलितिहार, बलिपूजा, गोरुपूजा पर्व पनि परेको समितिले जनाएको छ। तिथिले पाँचौँ परेपनि दिनअनुसार छैटौँ दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार समापन हुन्छ।

भाइटीकाको साइत ११:३७ बजे उत्तम रहेको पनि अध्यक्ष अधिकारीले बताए।

कुकुर तिहार