काठमाडौं । जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ ।
आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।
गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता गरेको हो ।
एमालेले गरेको जागरण सभा नसकिँदै मेयर बालेन शाहले १ लाख जरिवाना तिराएको पत्र सार्वजनिक गरेका थिए । तर, एमालेले भने फोहोर सफा गरिरहेको बेला जरिवानापत्र थमाएको भन्दै आपत्ति जनाएको छ । एमालेले बालेन एमालेमाथि परिचालित भएको आरोप लगाउँदै जरिवाना नतिर्ने घोषणा गरिसकेको छ ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।