काठमाडौं । सरकारी वकिल कार्यालय काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान जारी छ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा आइतबार बिहान साढे १० बजेदेखि उनको बयान सुरू भएको हो।
उनको बयान आइतबार सकाउने प्रहरी र सरकारी वकिलको तयारी छ। उनको बयान सकेसँगै जिल्ला प्रहरी कार्यालय कास्कीमै पठाउने प्रहरीको तयारी छ।
यसअघि सरकारी वकिल कार्यालयमा शुक्रबार पनि लामिछानेको बयान भएको थियो। त्यसदिन चार घण्टा बयान भएको थियो।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याएको थियो।
लामिछानेलाई सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो।
यसअघि पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेललाई काठमाडौं ल्याएर पोखरा फिर्ता गरिसकेको छ। उनलाई बयानका लागि चितवन पनि लगिनेछ।
जिल्ला अदालत चितवनबाट पनि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
रवि लामिछाने रास्वपा