Logo
२५ पुस २०८१, बिहीबार

देउवाले डडेल्धुरामा विमानस्थल बनाएर कमिसन खान खोजे : माधवकुमार नेपाल

अक्षरपाटी
२०८१ पुस २५ , बिहीबार ०१:०१ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि डडेलधुरामा अनावश्यक विमानस्थल निर्माण गरेर कमिसन खाने प्रयास गरेको आरोप लगाएका छन् ।

बिहीवार सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएको स्थिति र बैतडी–डोटीका विमानस्थल प्रयोगविहीन अवस्थामा हुँदा पनि डडेलधुरामा विमानस्थल बनाउने निर्णय अनावश्यक भएको बताए ।

‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्‍यो,’ उनले भने, ‘भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन ।

अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा रहेको र आवश्यकताभन्दा ठूलो संरचना निर्माणले राज्यको स्रोत खेर गएकोतर्फ ध्यानाकर्षण गराए।

उनले भने, ‘यसरी अर्बौं लगानी गर्ने परियोजनाको परिणाम के हो ? यस्ता निर्णय गर्नेहरू दोषी हुन्। बैतडी र डोटीका विमानस्थल सञ्चालनमा छैनन्, डडेलधुरामा विमानस्थल चल्छ भन्ने के आधार छ ? यो ठेक्काबाट लाभ लिने उद्देश्य बाहेक केही होइन।’

माधवकुमार नेपाल