Logo
६ वैशाख २०८२, शनिबार

सरकार ढल्ने हल्लामा कुनै सत्यता छैन : प्रधानमन्त्री ओली

अक्षरपाटी
२०८२ वैशाख ५ , शुक्रबार ०३:०४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला निराधार भएको बताएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले विकास र सुशासनका लागि कांग्रेस र एमालेजस्ता ठूला दलहरू मिलेर सरकार बनाएको स्पष्ट पारे ।

‘हल्लाको पछाडि लाग्नु आवश्यक छैन, ढुक्क भएर विकासमा लाग्नुहोस्,’ उनले भने, ‘देशलाई सुशासनयुक्त, समृद्ध र नेपालीलाई सुखी बनाउनु हाम्रो साझा लक्ष्य हो ।’

प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई सानो क्याप्सुलमा राखिएको ठूलो औषधिसँग तुलना गर्दै इच्छाकामनालाई प्राकृतिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्रका रूपमा वर्णन गरे ।

उनले मनकामना मन्दिरको दर्शन, जंगल सफारी तथा गर्मीमा चिसो वातावरणको अनुभवका लागि इच्छाकामना उपयुक्त गन्तव्य भएको बताए ।

सुरक्षित आवास निर्माण, कृषि, पर्यटन र आयआर्जनमा स्थानीय सहभागिता आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले चितवनको एकमात्र गाउँपालिका, इच्छाकामनामा ४ करोड २ लाख रुपैयाँ लागतमा बनेको चारतले प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।

केपी शर्मा ओली प्रधानमन्त्री ओली