Logo
२० साउन २०८३, बुधबार

कोशी सरकारको नेतृत्व विवाद : गुण्डुमा ओलीसँग मुख्यमन्त्री कार्कीसहित प्रदेश नेतृत्वको छलफल जारी

अक्षरपाटी
२०८३ साउन २० , बुधबार ०४:०८ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर नेकपा (एमाले) भित्र देखिएको विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नेतृत्वसँग छलफल थालेका छन्।

भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा भइरहेको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारीलगायत प्रदेश पदाधिकारी सहभागी छन्।

पछिल्ला केही दिनदेखि कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषय एमालेभित्र विवादको केन्द्र बनेको छ। अध्यक्षको निर्देशन भन्दै प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री कार्कीसँग राजीनामा मागेपछि विवाद सार्वजनिक भएको थियो।

त्यसपछि मुख्यमन्त्री कार्कीले व्यक्तिगत रूपमा राजीनामा नदिने र त्यसका लागि पार्टीको संस्थागत निर्णय आवश्यक पर्ने अडान सार्वजनिक गरेका थिए।

यही विवादलाई टुंग्याउने उद्देश्यले अध्यक्ष ओलीले प्रदेश नेतृत्वलाई गुण्डु बोलाएर छलफल थालेका हुन्। छलफल जारी रहेकाले नेतृत्व परिवर्तनबारे कुनै औपचारिक निर्णय भने सार्वजनिक भइसकेको छैन।

एमाले स्रोतका अनुसार छलफलमा कोशी प्रदेश सरकारको आगामी नेतृत्व, सत्ता सञ्चालन र पार्टीभित्र देखिएको मतभेद व्यवस्थापनका विषयमा समेत केन्द्रित भएर कुराकानी भइरहेको छ।

केपी शर्मा ओली कोशी प्रदेश सरकार नेकपा (एमाले)

ट्रेन्डिङ ( साप्ताहिक )