Logo
२२ वैशाख २०८२, सोमबार

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण लागि रुख कटान सुरु

अक्षरपाटी
२०८२ वैशाख २२ , सोमबार ११:०५ मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जीनीयर अनिश केसीले एक साता अघिदेखि रुख कटानको काम भएको जानकारी दिनुभयो ।

“एक हप्ता अघिदेखि रुख कटानको काम सुरु भएको हो अहिलेसम्म पाँच सय रुख कटान भइसकेका छन् ।” उहाँले भन्नुभयोे–“बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ ।” उहाँका अनुसार रुख कटानका लागि ४१ लाखमा ठेक्का सम्झौता भएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार दुबै तर्फबाट काम भइरहेको छ ।

भारतीय पक्षले बन्दरगाह निमार्णका लागि रु दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा बोलपत्र आह्वान गरिसकेकोे छ । सुख्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्णको काम सुरु हुनेछ ।

बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको अठार वर्षपछि सुख्खा बन्दरगाह निमार्णको कामले गति लिएको हो ।

सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

सुख्खा बन्दरगाह