Logo
१७ जेठ २०८२, शुक्रबार

गणतन्त्र : “बा”तन्त्र र “भाऊजू” तन्त्रको अनौठो फ्युजन

अक्षरपाटी
२०८२ जेठ १६ , बिहीबार ०९:०५ मा प्रकाशित

सीताराम भट्ट

धेरै मानिसहरू भ्रम बाँडिरहेका छन्, देशमा “गणतन्त्र” छ भनेर ! नेपालमा अहिले “बा”तन्त्र र “भाऊजू” तन्त्रको अनौठो फ्युजन चलिरहेको छ ! यो व्यवस्था कुनै तानाशाही व्यवस्था-सरह चलिरहेको छ ! बिगत एक वर्षदेखि अलिकति भएको लोकतन्त्रको पनि घाँटी निमोठ्ने हर्कतहरू निरन्तर चलिरहेका छन् !

आफ्ना विपक्षीहरूलाई अनेक बहानामा खोजिखोजि रेट्ने, इमान्दारितापूर्वक काम गरिरहेका बालेन र कुलमानजस्ता मानिसहरूलाई निहुँ खोजेर घेराबन्दी गर्ने, हुर्मत लिने, असहयोग गर्ने, हटाउने र खुईल्याउने काम सत्तासंचालकहरूले गरिरहेका छन् !
आफ्ना कार्यकर्तालाई कहिले “अरिंगाल बनेर विपक्षीलाई चिल” भन्ने, कहिले “बाघ बनेर झम्ट” भनिरहने व्यक्ति देशको प्रधानमन्त्री हुनुहुन्छ ! अहिले आएर “राजधानी कब्जा गर” भनेर निर्देशन दिनुभएको छ !

विपक्षीहरूको पूर्व निर्धारित कार्यक्रमलाई भाँड्न लक्ष्य राखेर, त्यो दिन “राजधानी कब्जा गर” भन्नुले ‘चैत १५मा कोटेश्वर, तीनकुनेको बितण्डाको डिजाईनर पनि उहाँहरू नै हुनुहुन्छ’ भन्ने अनुमान गर्न गाह्रो पर्दैन ! हुन त वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले केही वर्ष अघि भन्नुभए अनुसार, प्रधानमन्त्री खड्गप्रसाद ओली “लोकतन्त्र ल्याउन” जेल बस्नुभएको होईन, अर्कै “केश”मा हो रे ! प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहार पनि त्यस्तै देखिन्छ !

हाम्रो देशको समस्या भनेको निषेधको राजनीति हो ! कोही मान्छे राजतन्त्रको समर्थक हुन्छ भने हुन देऊ न, तब न लोकतन्त्र ! बरू, तिनीहरूको चित्त बुझाउन जनमत सङ्ग्रह गराएर तिनलाई हराई देऊ !
बेलायतमा उत्तरी राज्य स्कटल्याण्डका धेरै मानिसहरूले देश टुक्र्याएर अलग हुन पाउनुपर्ने आवाज उठाए ! बेलायतको सरकारले त्यसलाई सहज रूपमा लियो !

केही वर्ष अघि जनमत सङ्ग्रह गर्यो ! झिनो मतले गर्दा “देश टुक्रिनुहुन्न, स्कटल्याण्ड अलग हुनुहुन्न” भन्ने मतले जित्यो ! हार पछि बेलायत टुक्र्याउन खोज्ने, स्कटल्याण्डलाई अलग देश बनाउन खोज्नेहरू चूप लागे ! हाम्रो जस्तो भयङ्कर “राष्ट्रवाद” उर्लिएर आएन त्यहाँ !! अहिले पनि त्यहाँ अनौपचारिकरूपमा opinion polling हुने गर्छ, ! एक दुई प्रतिशत बढी मानिसहरू स्कटल्याण्ड टुक्रिन नहुने मत जाहेर गरिरहेका छन् ! त्यो हो असली लोकतन्त्र ! जब कि त्यो राजतन्त्र भएको मुलुक हो !

हामीकहाँ चाहिं राजतन्त्रको समर्थक हुँदैमा त्यसलाई “दास” भनेर होच्याउने, हुर्मत लिने, अनेक झुट्टा मुद्दा लाउने हर्कत हुँदैछन् ! सबैभन्दा अचम्म त विश्वविद्यालयमा पढाउनेहरू, अत्यन्तै प्रखर चेत भएको ठानिएका, स्वतन्त्र विश्लेषक ठानिएकाहरू पनि सत्तापक्षका अतिवादी कार्यकर्ता जस्तै अभिव्यक्ति दिइरहेका छन्; राजावादी “दास” हुन् भनेर ! ती आफू पनि एउटा विचारको ‘दास’ भएको पत्तै पाउन्नन् ! मलाई त्यस्ता विद्वान र “कसैको खुट्टा ढोग्नु दासता हो” भन्दै कुर्लने, चर्चा आउन अनेक प्रपन्च गरिरहने, जवानीमै कपाल फुलेकी त्यो एउटी उच्छृंखल केटी उस्तै-उस्तै लाग्छन् !

म मेरा मान्यजनलाई शिर निहुर्याएर, खुट्टा छोएर ढोग्छु अहिले पनि ! ! त्यो मेरो संस्कार हो ! मेरो ईच्छा ! त्यसमा कसैलाई केही टिप्पणी गर्ने अधिकार छैन !
यसैले राजावादी हुनु कसैको आस्था होला, कसैको विचार होला ! हामीले राम्रो ठानेको विचार मात्रै उत्तम हो, भन्नु भनेको लिंडेढिपी हो ! असहमत हुन त पाईन्छ नि ! तब न लोकतन्त्र ! यहाँ विद्वानहरू नै “अतिवादी” छन् ! असहिष्णु छन् !! नेताहरूका त के कुरा !!
व्यक्तिगत रूपमा म राजावादी होईन ! अझ ज्ञानेन्द्र शाह राजा हुन लायक एकरति पनि छैनन् भन्ठान्छु !

तर, राजावादीहरूको विचारलाई सम्मान गर्छु ! मार्क्सवाद/माओवाद जस्तो घोषित र लिखितरूपमा अधिनायकवादी विचार त मान्न पाईन्छ भने राजावाद/राजतन्त्रवाद मान्न किन नपाईने ? “प्रतिगामी” भन्ने तिमी को ? तिम्रो लुटतन्त्रको “अग्र-गमन” हामीले देखेका छैनौं र ?

तिम्रो गणतन्त्र जोगाउन जनताको मन जित्ने काम गर न ! राजधानीमा विरोध प्रदर्शन गर्न निषेध गरेर व्यवस्था जोगिन्छ ? सिल्लीहरू !! काम उल्टो-उल्टो गर्ने, अनि विरोधी आवाजको घाँटी थिचेर व्यवस्था जोगिन्छ त ?? मार्क्स र एंगेल्सले बुर्जुवा वर्गलाई “its own grave-diggers” भन्ने गरेका थिए, त्यस्तै अहिलेका उग्र गणतन्त्रवादीहरू पनि यो गणतन्त्रको चिहान आफैंले खनिरहेका छन् ! यस्तै र यही गणतन्त्र हो भने यो धेरै टिक्दैन !

यस्तो अतिवाद मौलाएका बेलामा, अलि संवेदनशील मान्छे “पागल” नै बन्नुपर्ने अवस्था छ ! महाकवि देवकोटाको “पागल” कविता दशकौंपछिसम्म पनि झन्-झन् सान्दर्भिक हुँदै गएको छ ! ‘पागल’ कविताको पछिल्लो अंश यस्तो छ:

मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रण्डीलाई लाश भनेको छु!
राजालाई गरीब,
सिकन्दरलाई मैले गाली दिएको छु!
महात्मा भनाउँदाको निन्दा गरेको छु!
नगण्य व्यक्तिलाई, तर,
सातौं आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख!
तिम्रो स्वर्ग, मेरो नरक!
तिम्रो सुन, मेरो फलाम
साथी! तिम्रो धर्म मेरो पाप!
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा!
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलट–पलट,
साथी!
तिम्रो विश्व, मेरो बाल!
जरुर साथी! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल !

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफा–तपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु!
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना!
साथी! मै दीवाना !
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन–अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर–टाउके छापाको कालो मिथ्याले
मेरो विवेक–वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता!
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि, साथी !
तब हुन्छन् ठाडा मेरा रौं, रौं
गर्गनका सर्पकेश झैं, मेरा जिस्क्याइएका
रौं, रौं !
जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो,
तब मेरा मक्काएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !
स्वर्गबाट चट्याङ परेको दिनझैँ ।
जब मानवले मानवलाई मानव ठान्दैन, साथी,
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि,
प्रकोपको लाल–लाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानवजगत्लाई,
एक आगोको लप्काले झैँ हेर्दछु, साथी !
अफ्रिन्छन् मेरा कलपुर्जा,
खलत्रल, खलबल!
तूफान हुन्छ मेरो सास!
विकृत हुन्छ मेरो चेहरा!
बन्दछ मेरो दिमाग, साथी!
बडवानलझैं, बडवानलझैं!
म वन खाने आगो झैं बहुला हुन्छु !
बहुला, साथी !
काँचै निलूँ झैं विश्वविशाल !
जरुर साथी !
म सुन्दर–चकोर, असुन्दर–फोर !
कोमल–क्रूर
चिडिया, स्वर्गाग्नि–चोर
तूफान–पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !

(लेखक/प्राध्यापक भट्टका निजी विचार)