Logo
१ असार २०८२, आईतबार

सपनाको सुगन्ध !

अक्षरपाटी
२०८२ जेठ २८ , मंगलबार १०:०६ मा प्रकाशित

  • गणेश गाउले

    सपना मात्रै देख्ने मान्छे होइन,
    सपनाको सहयात्री हुँ।
    सपनासँगै हिँड्छु,
    सपनासँगै नाच्छु,
    सपनामै रमाउँछु,
    मानौ
    सपना नै मेरो स्पन्दन हो,
    सपना नै ढुकढुकी।

निदाए पनि
सपना हराउँदैन,
बिउँझँदा पनि
सपना टुट्दैन।
किनभने म
सपना मात्र देख्दिन,
सपना जन्माउँछु,
सपनामा बाँच्दछु।

जीवन अचेल
सपना र विपनाबीचको पुल बनेको छ।
लाग्छ,
सपना नै यथार्थ हो,
र यथार्थ नै सपना !

सपना मेरो लागि केवल आकांक्षा होइन,
यो मेरो जीवनको दिशा निर्देश हो।
यो नै मेरो ऊर्जा हो :
जसले थकाइ मेटाउछ,
आशा जगाउँछ,
भविष्यको बीउ रोप्छ
र अङ्कुराउँछ।

मेरो सपनाः
कहिले भीर पाखाहरूमा फूल्छ
कहिले शहरको गगनचुम्बी महलमा टल्किन्छ,
कहिले खुला आकाशमा पखेटा फैलाउँछ,
कहिले भित्ते घडीजस्तै जीवनको गति नाप्छ।

एक थान सपना:
जसमा सारा संसार अटाउँछ।
पाठशालाको रुप लिन्छ,
समाज सुधारको सूत्र बन्छ,
राष्ट्र निर्माणको नक्सा कोर्छ।
शुभेच्छा र सहृदयताको सुवास छर्छ।

मैले मात्र आँखा खोलेर हेरेँ,
सपना आफैं मार्ग बन्यो,
त्यही बाटोमा हिँड्दा
दुखहरू पग्लिए,
सुखहरू फक्रिए,
संकट: शक्ति बन्यो
समस्याले समाधान जन्मायो।
संघर्षले सिर्जनालाई मलजल गर्‍यो।

त्यहि सपना भएकै कारण
आफूलाई चिन्न सजिलो भयो,
अरूलाई बुझ्न सजिलो।
आत्मा शान्त रह्यो,
परमात्मासँग संवाद सहज भयो।

जीवन, सहज होला जस्तो थिएन।
बल्ल थाहा पाएँ
केवल एक साँचो सपना भए मात्रै पनि
जीवन इन्द्रेणी बन्न सक्छ।
जहाँ लय आफै रचिन्छ,
गीत आफै गुञ्जिन्छ।

केही नभए पनि सबथोक पाइन्छ,
सबै गुमाए पनि केही बाँकी रहन्छ।
सपना छ भने
अभावमा पनि अपार हुन्छ।

आज, मसँग
एक थान सत्य सपना छ ।
र त
मसँग
पूर्ण, पवित्र र अर्थपूर्ण जीवन छ ।

(चैतन्य पाठशालाको पवित्र मन्दिरबाट सपनाका पूजरीहरूमा समर्पित)