प्रिय शेरबहादुर देउवा दाइ
सादर नमस्कार !
२०५९ साल भदौ ८ गतेको त्यो दिन सम्झँदा आज पनि कहाली लाग्छ । कहाली यस अर्थमा कि देशले तपाईँ जत्तिको उचाइँ भएको नेता पाउन निकै लगानी र समय पर्खनुपर्छ ।
कैलालीको पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गको आमखैयामा तत्कालीन बिद्रोही माओवादीको भाषामा भन्दा ‘भूलवश’ गरिएको त्यो आक्रमपछिको तपाईँको जिन्दगी लाग्छ देश र जनताका लागि उपहार हो ।
प्रहरीद्वारा आफ्ना साथी हत्याको बदलमा गरिएको त्यो आक्रमण भूलवश भने पनि, तीँ अन्धाधुन्ध गोलीहरु गाडीको पछाडिको टायर र बोनट वा अगाडीको टायरको माथिल्तिर नलागेर कहीँ अन्तै लागेको भए …।
घटनाबारे त्यतिबेलै एक संवाददाताको हैसियतले गोरखापत्रमा समाचार लेखिसकेको छु । दुनियालाई जाहेर भएको र तपाइँ आफैले भोगेको त्यो त्रासदीपूर्ण विषयको थप व्याख्या गर्नु शब्दको दुरुपयोग मात्रै हुनेछ ।
प्रिय दाइ,
मैले जाहेर गर्न खोजेको विषय र प्रसंग अलिक फरक हो । यहाँले मंगलबार दिएको एक लाइन अभिव्यक्तिले मेरो मथिंगलमा हलचल ल्याएकोले मात्रै म बबुरो यो पत्रात्मक टिप्पणी लेख्ने दुस्साहस गरिरहेको छु ।
पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार गरेको बजेटसम्बन्धी छलफलमा यहाँले बोलेको एक वाक्य जति सरल छ, त्यति नै उद्देग र कहालीलाग्दो पनि ।
हो, दाइ, सो कार्यक्रममा यहाँले सुन्दा सामान्य लागे पनि निकै यथार्थ र देशको मार्मिक अवस्थाको चित्र बोल्नु भएको छ–‘नेपालले मान्छेबाहेक केही निर्यात नै गर्न नसक्नेजस्तो अवस्था भयो ।’
वाध्यता आफ्नै होलान तर एक नेपालीको नाताले देश रित्तिएको दुखाई सायद तपाइँको छातिभित्र पनि उत्तिकै दुखिरहेको भान सो अभिव्यक्तिले गरायो र गराउँछ ।
प्रिय दाइ,
मजस्तो गन्तिमा नआउने मान्छेको भोगाइ र भनाइको अर्थ त के रहन्छ र ! र पनि यो टिप्पणीमा थोरै सान्दर्भिक होला कि भनेर मैले नितान्त आफ्नो प्रसंगलाई यहाँनेर जोड्ने अनुमति चाहेँ ।
दाइ !
‘देश छोड्नेको लर्को’जस्ता शिर्षकका समाचार लेख्दै, लेखाउँदै र सम्पादन गर्दागर्दै २०÷२२ वर्षको पत्रकारिता पेशलाई स्थगित गरेर म पनि देश छोड्नेको सूचीमा परेँ ।
नाबाल छोराका बर्सिरहेका आँखाको झरीमा रुझ्दै म पनि बिदा भएँ । जीवनका २ वर्ष परदेशमा बिताएँ…।
बहुत पीडा हुन्छ दाइ प्रदेशमा । भ्रमणमा गएर आतिथ्य सत्कार स्वीकारेर फर्केजस्तो कहाँहुँदो रहेछ र दाइ विदेश ।
हामीले सिकेको सिप, ज्ञान र अध्ययनले विदेशमा काम चल्दोरहेन छ दाइ । बस काम लाग्ने भनेको इमान्दारिता, भाषा र मिहिनेत मात्रै हो रहेछ ।
मजस्तो अधबैंसे उमेरको मान्छेलाई त निकै सकस भयो भने हाम्रा ओठ निचोर्दै दूध चुहिएलाजस्ता छोराछोरी, भतिजाभतिजी यहाँका त नातीनातिना उमेरकालाई झन कति सकस होला दाइ ?
व्यवस्थाका अनेकन आयाम देखिसक्दा पनि ‘देशमा केही नदेखेर’ बाआमाको जीवनभरको लगानी परेका किशोर र युवा पुस्ता सम्भ्रान्त देशको श्रमिक बनिरहेको छ
जसले स्वदेशमा बस्दा दुःखको ‘द’सम्म बुझेका हुँदैनन् । तिनीहरुका दुःख, आँशु र उकुसमुकस मैले देखेँ, नियालेँ र निरिह भएर हेरिमात्र रहेँ ।
दुःख बुझेका पौरखीका पाखुराहरु त ‘कुनै दिन देश बन्ला र फर्कौँला’ भनेर खाडीको घाममा जलेर खरानी हुँदैछन् ।
व्यवस्थाका अनेकन आयाम देखिसक्दा पनि ‘देशमा केही नदेखेर’ बाआमाको जीवनभरको लगानी परेका किशोर र युवा पुस्ता सम्भ्रान्त देशको श्रमिक बनिरहेको छ, बन्ने क्रम जारी छ ।
प्रिय दाइ,
यो सबै दृष्य आँखै अगाडि हुँदा पनि २०८१ कार्तिक ११ गते यहाँले दिएको अभिव्यक्तिले भने निकै विरक्त बनाएको थियो ।
सायद हुजुर विर्सनुभयो होला दाइ, सम्झाइदिने, झकझक्याइदिने र सुझाइदिनेभन्दा ‘सुमसुम्याइदिने’ जमात जो बढेको छ, हाम्रो राजनीतिवृतमा !
कोजाग्रत पूर्णिमाको दिन । सानेपामा नेपाली कांग्रेसको चियापान कार्यक्रम थियो ।
‘नेपाली युवापुस्ता दिनानुदिन विदेश गइरहेका छन्, देश रित्तिँदै छ, उनीहरुलाई नेपालमै बस्ने वातावरण कसरी बनाउने ?’
सञ्चारकर्मीको यो प्रश्नमा तपाईँले कति सजिलै भनिदिनुभयो, –‘मैले त उहाँहरुलाई भनेकै छु नि । तर उहाँहरु मान्नु हुन्न, जान चाहनुहुन्छ । रहर पुगेपछि फर्किहाल्नुहुन्छ नि ।’
प्रिय दाइ,
एउटा बिनम्रतापूर्वक अनुरोध गर्छु । तपाईँ पनि सुदूरपश्चिमको विकट वनपाखामा हुर्किएको मान्छे । तपाईँको बालापन पनि त्यही भीरपाखाको गरिबी र पछौटेपन देखे–भोगेर न हुर्किएको हो ।
त्यसताका पनि तपाईँकै कैयौँ छिमीकी काका, दाजु, भिनाजुलगायत भारतका गल्लीमा चौकीदारी गर्न हिँडेको देख्नु भएकै हो । के त्यो रहरले थियो र दाइ ? आज पनि त्यही वाध्यता यथावत छ ।
घरमा सहारा खोजिरहेका बाआमा, आश्रय मागिरहेका लालाबाल, साथ खोजिरहेको जीवन साथीलाई चटक्कै छोडेर हिँड्ने पनि कतै रहर जाग्छ र दाइ ? तपाईँले भनेर रोकिन्न नि दाइ, त्यो रोक्न त नजाने अवस्था सिर्जना गरेर देखाउनुपर्ने थियो । गर्नुभएन ।
बरु कैयौँ उद्योगको अधोगति भयो । हजारौँ हजारौँ घरेलु र साना उद्योगहरु धरासयी बने । कृषि र वनस्पति उपजहरु निर्यात हुन बन्द भए । अनि सुरु भयो मान्छे निर्यातको शिलशिला । देश बन्यो ह्याचरी फर्म !
दाइ,
परदेशिनेहरु ‘रहरले गएका त हुन नि, रहर पुगेपछि फर्कि त हाल्छन् नि’ आसयको अभिव्यक्ति दिएको वर्षदिन नहुँदै यहाँले २०८२ जेठ २७ गते –‘नेपालबाट मान्छेबाहेक केही निर्यात नै हुन नसक्नेजस्तो अवस्था भइसक्यो’ भनेर बोलेको सुन्दा निकै सन्तोक मिलेको छ ।
कारण, यहाँजत्तिको हैसियतमा भएको नेताले यो कुरा मनन गर्नु नै सकारात्मक विषय हो दाइ । विडम्बना यो अवस्थामा सुधार गर्ने कस्ले ?
कारण, यहाँजत्तिको हैसियतमा भएको नेताले यो कुरा मनन गर्नु नै सकारात्मक विषय हो दाइ । विडम्बना यो अवस्थामा सुधार गर्ने कस्ले ?
आज जीवनको ८० दशक टेक्न लाग्दा यहाँले यो देश र प्रजातन्त्रका लागि गरेको योगदानको फेहरिस्त कम लामो छैन । जीवनको एक दशक त जेलमै गुजार्नुभएको छ ।
२०२२ सालमा सुदूरपश्चिममा विद्यार्थी संघबाट थालेको तपाईँको राजनीति यात्राले २०२७ मै विद्यार्थीसंघको नेतृत्व सम्हाल्यो ।
कैयौँ राजनीतिक उतार–चढाव गर्दै २०४६ सालको आन्दोलनमा सुदूरपश्चिम क्षेत्रमा पार्टीको राजनीतिक प्रमुख भएर नेतृत्व सम्हाल्नुभयो । तपाईँले २०४८ मा देशको गृहमन्त्रीको जिम्मेवारी बहन गर्नुभयो ।
तपाईँ यस्तो भाग्यमानी मान्छे हो कि जो २०४८ सालदेखि निरन्तर सांसद र सभासद मात्रै निर्वाचित हुनुभएन, २०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री हुनुभयो ।
२०५८ साउन ७ मा दोस्रोपटक प्रधानमन्त्री बनेको तपाईँ सुदूरपश्चिमले एक सामान्य किसान परिवारमा जन्माएको ‘दबंग’ नेता पनि हो ।
‘दबंग’ यसअर्थमा कि नेपाली कांग्रेस पार्टीमा सबैको सुनेजस्तो गर्ने तर ‘आफूले जे भन्यो त्यही गर्ने र जे गर्यो त्यही भन्ने’ हठी नेता गिरिजाप्रसापद कोइरालाको बिरुद्धमा तपाईँले विद्रोह गर्नुभयो ।
विद्रोह मात्र होइन २०५९ मा पार्टी नै फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी स्थापना गरेर तपाईँले गिरिजाबाबुकै बराबरी हैसियत बनाउनुभयो ।
मुलुकमा लोकतन्त्रको बिउ रोप्ने ऐतिहासिक पार्टीको तत्कालीन सभापति गिरिजाप्रसादलाई सम्झौता गर्न वाध्य बनाएर २०६४ सालमा पार्टी एकता गर्नुभयो । जसको नेतृत्व आज तपाईँ गरिरहुनभएको छ ।
प्रजातान्त्रिकको सभापतिसँगै तपाईँ २०६१ जेठ २१ मा तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो ।
माओवादी विद्रोहका विरुद्ध तपाईँ चट्टानी रुपमा उभिनुभयो । वार्ताले नभएपछि टाउकोको मुल्य नै तोक्ने साहस तपाईँले नै गर्नुभयो ।
यो क्रम यतिमै रोकिएन, २०७४ जेठ २३ मा चौथोपटक र २०७८ असार २९ मा पाँचौपटक प्रधानमन्त्री बन्नुभयो ।
त्यो मात्रै होइन माओवादी विद्रोहका विरुद्ध तपाईँ चट्टानी रुपमा उभिनुभयो । वार्ताले नभएपछि टाउकोको मुल्य नै तोक्ने साहस तपाईँले नै गर्नुभयो ।
२०४६ को प्रजातान्त्रिक आन्दोल होस कि २०६२÷६३ को आन्दोलनमा तपाईँ ‘ले ले जनता खुकुरी ले, ज्ञानेन्द्रलाई छप्काइ दे’ जस्ता नाराको अगाडि नेतृत्वदायी भूमिकामा उभिनुभयो ।
प्रिय दाइ,
यो सबै खुला सत्यको सब्दभार थोपरेर म लेखक बनिटोपलेको होइन । न त त्यो अभिलासा र लिप्सा नै अब मभित्र बाँकी छ ।
म केही बन्नु र नबन्नुमा के नै पो अर्थ राख्छ र । कस्ता कस्ता विद्वानहरु खुइलिएको देशमा म बबुरो मानव रुपको एक नगन्य तन्तुको मूल्य पो कति हुन्छ र ?
मेरो सरोकार दाइको त्यो उँचाइ, अवसर, अगुवाई र अभिव्यक्तिसँग मात्रै हो ।
जसले नेपालको लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्यो, जो हरेक परिवर्तनको हिस्सेदार रहनु भयो ।
अनि हरेक नेपालीको घरमा जोति खान एक हल गोरु, एक गह्रो खेत, एक दुहुनो गाई र आफ्नै बसेरा होस भन्ने सिद्धान्त बोकेको पार्टीबाट नेपाली जनताको भाग्य र भविश्य बदल्ने पदमा पटक पटक पुग्नु मात्र भएन अझै छैठौँपटक सोही पदप्राप्तीको पखाईएमा हुनुहुन्छ ।
तर दाइ,
यो कस्तो विडम्बना ! यति गौरवशाली जीवन कथा बनाएको मान्छेकै असापासकै पात्रहरुलाई किन यति गम्भिर आरोपहरु लाग्न सकिरहेका छन् ? यहाँले भनेकै निर्यातको आरोप खेपिरहेका छन् ?
निरंकुशताका विरुद्ध ‘खुकुरीले छप्काइ दे’ भन्ने नारा लगाउने नेतृत्वका नजिकका मान्छेमाथि प्रश्न उठाउँदा किन प्रश्न गर्नेहरुमाथि पक्राउपुर्जी जारी हुँदैछन् ?
दाइ, तपाईँले ल्याएको प्रजातन्त्र वा अझ सुधारिएको शब्द लोकतन्त्रको के यस्तै परिकल्पनाको हो ?
हामीले ल्याएको यो कस्तो लोकतन्त्र हो दाई, जहाँ प्रश्न उठाउन मनाही छ । विरोध गर्न बन्देज छ । आवाज उठाउनु अपराध हुन्छ ?
यती संघर्षले रचेको उँचाइमा पुगेर, यति धेरैपटक जनताको भाग्य परिवर्तन गर्ने पदमा बसेर तपाईँ नै भन्दै हुनुहुन्छ– ‘नेपालले मान्छेबाहेक केही निर्यात नै गर्न नसक्ने अवस्था भयो !’
आदरणीय दाइ,
पाँचौपटक मात्रै नभएर अब सायद (सहयात्री दलमा इमान्दिारिता रहेछ भने) छैटौँपटक तपाईँ देशको बागडोर सम्हाल्ने सम्भावनामा हुनुहुन्छ ।
तपाईँहरुजस्ता पटकपटक देशको नेतृत्व सम्हालेकाहरु पदमै बसेर भन्नुहुन्छ, देश युवा पलायनको थलो भयो, मानव बेचविखनको अखाडा बन्यो, व्यथिति बढ्यो, भ्रष्टाचार मौलायो, अनैतिकता र अमर्यादा पस्टायो ।
अनि तपाईँ र तपाईँहरुजस्ता पटकपटक देशको नेतृत्व सम्हालेकाहरु पदमै बसेर भन्नुहुन्छ, देश युवा पलायनको थलो भयो, मानव बेचविखनको अखाडा बन्यो, व्यथिति बढ्यो, भ्रष्टाचार मौलायो, अनैतिकता र अमर्यादा पस्टायो । अनि सत्तामा बसेकैहरुको बोलीमा लगाम लगाउने कस्ले ?
अब भनिदिनुस दाइ अनि बाहरु, यो सब कसलाई सुनाइरहनुभएको छ ? यो सुधार्न कुन लोकको अवतारी वा जादुगरी मानव आइदिनेवाला छ ?
तपाईँहरुले नै देश चलाएका बेला चलेका यी व्यथिति, भ्रस्टाचार, निराशा र कुन्ठाका ऐँजेरुहरु उखेल्ने जिम्मा अब सकले लिइदिने ।
जिन्दगीका ८० औँ वशन्तको आसपासमा पुग्दा पनि तपाईँहरुजस्ता अग्रजपुस्ताका नेताहरुमा अब के को लोभ र मोहले यसरी गाँजिरहेको छ ? जहाँ बोलीमा सदाचार छ तर व्यवहारले आम जनता झनै विछिप्त बनिरहेका छन् ।
दाइ,
यो लेखिरहँदा मलाई कुनै सुधार वा परिवर्तनको रत्तिभर अपेक्षा भने छैन दाइ । किनकि किशोरावय युद्धको त्रासमा बिताएको, युवाकाल आन्दोलनमा खेर फालेको, केही गर्ने १० वर्ष समय संविधान निर्माणको अलमल र बाँकी उमेर संविधान निर्माणपछिको छलछाममै खेर फालेको अधबैंसे अभागी पुरुष हुँ म ।
र, मलाई यो पनि थाहा छ, मजस्ता बबुरोको यो टिप्पणीले तपाईँहरुजस्ता अनुभवले खारिएका खेलाडीलाई अलिकति पनि ‘तालो लाग्ने’ छैन ।
यो लेखाईले यहाँहरुका दुईचार प्रसंसकले मतिर ‘धारे हात’ लगाउनेछन्, एकछिका लागि मनको पिलो निचोरेर यो मेरालागि पनि ‘मुतको न्यानो’ मात्रै हुनेछ ।
जय नेपाल !!!