o शंकर खैराली
कैलालीको साविक खैराला गाविस ३, गर्भामा रहेको राणाकालीन ऐतिहासिक दरबार आजसम्म केन्द्र सरकारको नजरमा परेन । आज मात्रै संघीय सरकारले सो दरबारबारे चासो देखायो ।
संघीय सरकारका विभागीय मन्त्री बद्रीप्रसाद पाण्डेले दरबारबारे पहिलोपटक सार्वजनिक रुपमा सम्बोधन गर्दै भने– ‘कैलालीस्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर छ । चुरे गाउँपालिका–४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्विक सम्पदाको सूचीमा सुचीकृत गरिसकिएको छ ।’
त्यतिमात्र होइन मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो बढेकोबारे जानकारी भएको जनाउँदै चालु आर्थिक वर्ष २०८२–८३ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि ४ लाख रकम छुट्याएको पनि स्पष्ट पारे।
काठमाडौंमा मन्त्रीले कैलालीको दुर्गम गाउँपालिका चुरेमा रहेको दरबारबारे चासो व्यक्त गरिरहँदा उता दरबारको भित्ता भने भत्किएर थप भग्नावशेष बनेको छ ।
केहीदिनदेखि निरन्तर परेको झरी र वर्षाका कारण रुग्ण बनेको दरबारको उत्तरपूर्वको भित्ता भत्किएर कुरुप बनेको स्थानीय केशव देउवाले बताए।
ऐतिहासिक दरबारका इँटा चोरी हुने चिन्ता स्थानीयले व्यक्त गरेका छन् । यसमा वडा पालिकाले इँटा संरक्षणको जिम्मा लिनुपर्ने सरोकारवालाको भनाइ छ ।
सोही दरबारको अगाढी भागमा रहेको कलाकृतिले सुसज्जित भित्ता २०५५ सालको वर्षा र हुरीले भत्किएर नष्ट भइसकेकोबारे समाचार त्यतिबेलै पहिलोपटक धनगढीबाट प्रकाशित हुने ‘मातृशन्देश अर्ध साप्ताहिक’मा लामो आलेख प्रकाशित भएको थियो ।
दरबारबारे पहिलो लेख प्रकाशित भएको करिब २५ वर्षपछि संघीय सरकारका मन्त्रीले दरबारबारे चासो देखाइरहेकै बेला दरबारको भित्तासमेत भत्किन सुरु भएकोमा स्थानीय चिन्तित भएका छन् ।
दरबारको नाम बेचेर कहिले रंगरोगनका नाममा त कहिले संरक्षणका नाममा स्थानीय र प्रदेश सरकारको रकम खर्च गरिए पनि दरबारको वास्तविक संरक्षण भने कतैबाट हुनसकेको छैन ।
सम्बत १९८२ सालमा तत्कालीन राणा परिवारले निर्माण शुरु गरेर तीन वर्ष लगाएर निर्माण सम्पन्न गरेको यो दरबारमा सयौँ बटुवाको पशिना परेको स्थानीय बुज्रुकहरुले बताउने गरेका छन् ।
पुरातात्विक सम्पदाको सूचीमा पर्नलायक यो दरबार फेरिएका व्यवस्था, सत्ता र सत्तासारथीको नजरमा भने आजसम्म पर्न सकेको थिएन । यद्यपि केहीले भने यो दरबारलाई देखाएर कमाइखाने भाँडो बनाउँदै आएको स्थानीयको गुनासो उच्च छ ।
दरबारको संरक्षणमा स्थानीय सरकारले पनि चासो नदेखाएको गुनासो स्थानीयको छ । प्रदेश सरकारबाट हाल पनि १० लाख लागतमा दरबारको जनिम सुरक्षित राख्ने नाममा निर्माण गरिएको पर्खालले उल्टै दरबारको जमिन हिनामिना भएको समाचार अक्षरपाटीले सार्वजनिक गरेको थियो ।
जसका कारण पर्खाल निर्माण रोकेर सत्यतथ्य छानविनका लागि प्रदेश सरकारको पर्यटन मन्त्रालयले समिति बनाएको बताएको छ ।
दरबारबारे मातृसन्देश अर्धसाप्ताहिकमा ०५६ सालमा पहिलोपटक र त्यसयता विभिन्न राष्ट्रिय संचारमाध्यममा दर्जनौँ आलेख प्रकाशित भइसकेका छन् ।
विक्रम सम्बत २०४५ देखि ०४७ सम्म यही दरबारको भवनमा सारिएको श्री बस्नेत प्राविका नामामा तत्कालीन गाउँपञ्चायतले उपलब्ध गराएको जमिनको पनि अहिले हिसाब किताब छैन ।
करिब १०० वर्ष उमेर पुग्न लागेको यो दरबारलाई आकर्षक देखाउन निर्माण गरिएका विभिन्न जनावरका मुर्ति, कलाकृतिहरु ०५५ सालमै भत्किएर माटोमा परिणत भइसकेका थिए ।
कुनै पनि निकायबाट संरक्षण नहुँदा त्यसको २७ वर्षपछि आज दरबारको भित्ता भत्किएर थप क्षति भएको छ ।
‘सम्शेरगञ्ज दरबार’का नामले परिचित यो दरबार संरक्षणको अभावमा खण्डहर मात्रै होइन अब पनि यसको जिर्णोद्वार नहुने हो भने अस्तित्व नै मेटिने पक्काजस्तै छ ।
यद्यपि पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले बिहीबार एक सार्वजनिक कार्यक्रममा दरबारको संरक्षणमा सरकार संवेदनशील बनेको र पुरातत्वले यसको जिम्मा लिइसकेको सार्वजनिक रुपममै बताउनाले केही आसा भने पलाएको छ ।
सम्भावना : पर्यटनको पर्याय
दरबारको दक्षिणी पाखामा फुल्ने लालिगुँरास, उत्तरी कुनामा टल्कने हिमाल र दरबारको आँगनमै लम्पसार पर्ने सूर्योदयको लालित्यताले यसको मनोरमता कम छैन ।
कैलालीको सदरमुकाम धनगढीमा ४२ डिग्री सेल्सिएस गर्मीको पारो चढ्दा पनि कैलालीकै पहाडी क्षेत्रमा रहेको यो दरबारमा भने २६, २७ डिग्री मात्रै गर्मी हुनेगर्छ ।
प्राकृतिक सुन्दरता, मौलिक नेपाली गाउँ, ग्रामिण परिवेश, विभिन्न जातजाति, क्षेत्र र भूगोलका बासिन्दाको फुलबारीजस्तो यो गाउँ आफैमा खुला संग्रहालयजस्तो प्रतित हुन्छ ।
तत्कालिन राणा शासकहरुले सुदूरपश्चिममा गाँउका मुद्दा मामिला छिन्न, तिरो उठान, कैलालीबाट पहाडी जिल्लाहरुमा जान, कैलाली, कञ्चनपुर र डोटीको सदरमुकाम बनाउन खैरालामा दरबार निर्माण गरेको बुजु्रकहरुले बताउँदै आएका छन् ।
राणाहरुले एउटा दरबार चौमाला, अर्को निरौली र दिपायलको पिपल्ला पारी डाँडोमा बनाएका थिए । तिनै चारमध्येको अस्तित्वमा रहेको यो एक मात्र दरबार भएको स्थानीय बताउँछन् ।
८३ झ्याल, ५३ ढोका र अन्डरग्राउण्डसहित ११ रोपनीभन्दा बढी क्षेत्रफलमा दरबार फैलिएको थियो । सो जमिन अहिले अतिक्रमण भएर दुई, तीन रोपनीमा मात्रै खुम्चिएको छ ।
भौगोलिक रुपले विकट भए पनि प्राकृतिक रुपले मनमोहक र लोभलाग्दो दरबार पर्यटक आकर्षकको अनुपम थलो बन्नेमा शंका छैन ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको चौमालाखण्डदेखि जम्माजम्मी १८ देखि २० किलोमिटर उत्तरको दुरीमा अवस्थित दरबारसम्म पुग्न यतिबेला कच्ची सडक समेत निर्माणका क्रममा छ ।
कैलालीको प्रचण्ड गर्मी हुने बाक्लो आवदी भएको तराईँ क्षेत्रसँग जोडिएको यो सुन्दर, शान्त, एकलास र चिसो रमणीय भूमी पर्यटकीय सम्भावना बोकेर बसेको छ ।
यहाँको उच्च पहाडी भेगमा फल्ने मकै, कोदो, फापर, नगदेबालीका रुपमा रही आएको सुन्तला, अदुवा, चिसो पानीमा सम्भावना बोकेर बसेको ट्राउट माछा पालनलाई विस्तार गरेर ‘एतिहासिक, कृषि र प्राकृतिक पर्यटन’को स्वाद तराईँबासीलाई पस्कन सकिने सम्भावना छ ।
तर दरबारको भित्ता भत्किएसँगै त्यो सम्भावना नै कतै लोप भएर जाने हो कि भन्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।
दरबारबारे स्थानीय पत्रकार शिवराज योगीले २०५६ सालमा पहिलोपटक ‘मातृ सन्देश’ अर्ध–साप्ताहिकमा दरबारे इतिहाससहितको लामो लेख लेखेका थिए । त्यसयता उनले यस दरबारबारे निरन्तर रुपमा राष्ट्रिय स्तरमा दर्जनौँ आलेख लेखिसकेका छन् ।
उनले भने, ‘धेरै सरकार मात्र फेरिएनन्, व्यवस्था पनि फेरिए, यो दरबारको भाग्य फेर्न कोही आएन, दरबारसँग स्थानीय समाजको भविश्य फेरिने सम्भावना पनि उत्तिकै छ ।’
मन्त्रीको चासो सह्रानीय, ढिलो नहोस्
पहिलोपटक वर्तमान पर्यटन मन्त्री पाण्डेले दरबारबारे व्यक्त गरेको चासो बारे पत्रकार योगीले भने, ‘दरबार बारे सरकारले थाहा पाउनु र चासो देखाउनु सकारात्मक पक्ष हो, तर यता चासो देखाउँदै गर्दा उता दरबार भत्कन सुरु भइसकेको छ, संरक्षणको योजना ढिलो नहोस ।’
अक्षरपाटीले उक्त दरबारको संरक्षणदेखि दरबार क्षेत्र संरक्षणको नाममा दरबारकै जमिन हिनामिना हुनेगरी निर्माण गरिएको पर्खालबारे निरन्तर समाचार प्रकाशित गर्दै आएको छ ।
खैराला दरबारबारे थप समारचार लिंकहरु :-
https://aksherpati.com/2025/06/15236/
https://aksherpati.com/2025/06/15378/
https://aksherpati.com/2025/06/15604/
https://aksherpati.com/2023/02/4545/
खैराला दरबार गर्भा दरबार चुरे गाउँपालिका पुरातत्व विभाग बद्रीप्रसाद पाण्डे