Logo
१७ असार २०८२, मंगलबार

नेता चन्द्र भण्डारीको चिन्ता : सांसदलाई नै ढाँटेपछि यो मुलुक कति ठगिएको होला ?

अक्षरपाटी
२०८२ असार १७ , मंगलबार १२:०७ मा प्रकाशित

सांसदहरुको भूमिका के ?

‘संसदमा सांसदलाई ढाँट्ने, छल्ने र किर्ते गर्ने गरेपछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ ? यो अक्षम्य ठूलो अपराधको कारवाही इतिहास बन्नेगरी गर्नुपर्दछ ।’

काठमाडाैं । आइतबार सदनबाट पारित भएको निजामति सेवा विधेयक निकै विवादित बनेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बदनियतपूर्ण तरिकाले संसदमा सांसदलाई नै ढाँटेको र किर्ते गरेको आरोप लागेको छ।

नेपाली कांग्रेसका खरो नेता तथा सांसद डा. चन्द्र भण्डारीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ अफ पिरियडको सहमति विधेयकमा ठिक उल्टो हुनेगरी सदनबाट पारित गराएर समितिले अक्षम्य अपराध गरेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा सांसदलाई ढाँट्ने, छल्ने र किर्ते गर्ने गरेपछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ ? यो अक्षम्य ठूलो अपराधको कारवाही इतिहास बन्नेगरी गर्नुपर्दछ ।’

समितिमा निजामती विधेयकको प्रतिवेदन पारित गर्दा ‘कुलिङ अफ पिरियड’ को सन्दर्भमामा भएको सहमति आइतबार सदनबाट पारित हुँदा भने फरक मर्मसहितको विधेयक पारित भएको हो।

यसरी सांसदलाई नै झुक्याएर विधेयक पारित भएकोप्रति अहिले चर्को विरोध सुरु भएको हो ।

नेपाली कांग्रेसका नेता डा. भण्डारीले भनेका छन्, ‘कति ठूलो छलछाम ! दायित्वमा रहेका सम्बद्ध पक्ष पनि परीक्षण्को कसीमा हुनुपर्दछ । के के देख्नु, सुन्नु र भोग्नुपर्ने हो ? योभन्दा ठूलो लज्जा पनि केही हुँदैन ।’

रास्वपाले माग्याे खतिवडाको राजीनामा

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई कुलिङ पिरियडमा भएको छलछामको जिम्मेवारी लिन भनेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

उनले लेखेका छन्- ‘राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती विधेयकमा, तपाईँले संघीय सदनको रोस्टमबाट टेबल गरेको भन्दा फरक कुरा कसरी आयो ?’

प्रवक्ता झाको सुझाव छ, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’

सांसदहरुको भूमिका के ?

संसदमा पेश भएको विधेयक सहमति भएभन्दा फरक पास भएकोमा सांसदहरु पनि उत्तिकै जिम्मेवार हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठीरहेका छन् ।

विधेयकमा भएका हरेक दफा अक्षरस: पढेर, छलफल गरेर र अर्थ केलाएर पास हुनुपर्नेमा सांसदहरुले चैँ के हेरेर बसे ? भन्ने आसयका प्रश्न सामाजिक सञ्जालहरुमा उठाइएका छन् ।

‘न समितिको नियत ठिक, सांसदहरु चनाखो ! यसरी त सदनकै गरिमा गिरेन र ?’ आम रुपमा यी प्रश्नहरु उठिरहेका छन् ।

चन्द्र भण्डारी निजामति सेवा विधेयक सांसद