काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न प्रदेशहरूमा सामाजिक सहयोगका कार्यक्रमहरू सञ्चालन गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरताजस्ता क्षेत्रमा निरन्तर सकारात्मक योगदान पुर्याउँदै आइरहेको छ।
शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित पूर्वचौकी गाउँपालिका–५, बटालागाउँमा रहेको नव प्रभाव आधारभूत विद्यालयका ८७ जना छात्र–छात्रालाई विद्यालय पोशाक प्रदान गरेको छ।
बैंकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह जागृत गर्नुका साथै अध्ययनप्रति सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यस्तै स्वास्थ्य सेवा क्षेत्रमा समेत प्राथमिकता दिँदै, बैंकले कर्णाली प्रदेशको बिरेन्द्रनगर–४, सुर्खेतमा अवस्थित प्रदेश अस्पताल सुर्खेतलाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ। यस सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामी तथा जेष्ठ नागरिकहरूलाई सहजता पुग्ने विश्वास बैंकले लिएको छ।
त्यसैगरी, कोशी प्रदेशको धनकुटा जिल्ला अस्पतालमा बिरामी तथा कुरुवाहरू बस्न सकून् भन्ने उद्देश्यले बैंकले ७ थान तीन सिटर कुर्सी प्रदान गरेको छ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वलाई आफ्नै दायित्वका यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
मुक्तिनाथ विकास बैंक