काठमाडौं । भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका २ मा एकै परिवारका चार जनाको हत्या गरिएको छ।
धोद्लेखानी बोन्थिताङ गाउँमा राति चार जनाको सामूहिक हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।
पारिवारिक झगडाका कारण एकै परिवारका चार जनाको हत्यापछि आरोपीले आफैलाई पनि खुकुरी प्रहार गरेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। एकै परिवारका चार जनाको हत्या भएपछि गाउँ शोकमा डुबेको छ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली आज बिहान घटना स्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ।
इलाका प्रहरी कार्यालय घोडेटार, जिल्ला प्रहरी कार्यालय भोजपुर लगायतका ठाउँबाट प्रहरी घटना स्थलमा पुगेको हो।
भोजपुर नगरपालिका–२ हेलाउँछका ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर १५ वर्षकी श्रीमतीसहित सुसुराली पक्षका चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ।
राजेन्द्रले आफ्नै करिब १५ वर्षीया श्रीमती, १० वर्षीय सालो, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सासू ४५ वर्षीया मञ्जु गिरीको हत्या गरेको प्रहरीको भनाइ छ। हत्यापछि राईले आफैँलाई पनि खुकुरी हानेर घाइते बताएका र उनलाई जिल्ला अस्पताल भोजपुर लगिएको छ।
पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले भनेको छ।
१४ वर्षकी किशोरीलाई राजेन्द्रले निकै मन पराएर गत वर्ष किशोरीसँग जबरजस्ती विवाह गरेका थिए। परिवारले १४ वर्षमै विवाह गर्न अस्वीकार गरेपछि राजेन्द्रले भगाएर विवाह गरेको स्थानीयबाट खुल्न आएको प्रहरीको भनाइ छ।
भोजपुर नगरपालिका–२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राईको घर पुगेकी किशोरीलाई परिवारले हेला गरेका कारण उनी त्यहाँबाट माइती फर्किएको स्थानीयहरू बताउँछन्।
१४ वर्षकी किशोरीलाई विभिन्न खालको शारीरिक तथा मानसिक यातना सहनुपरेपछि उनी माइतीको आश्रयमा आएकी थिइन्।
उनलाई लिन आएका राजेन्द्रसँग किशोरी जान नमानेको र अभिभावकले नमानेपछि नलग्न भनेर छोरीकै पक्षमा बोलेपछि राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममतापूर्वक हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटना राति १२ः३० बजेतिर भए पनि प्रहरी आज बिहान साँढे ३ बजेतिर घटनास्थलमा पुगेको बताइएको छ।
प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।
crime भोजपुर हत्या