दक्षिण भारतीय सिनेमा जगतले एकजना दिग्गज कलाकार गुमाएको छ। चर्चित अभिनेता तथा खलनायकको रूपमा चिनिएका कोटा श्रीनिवास रावको आइतबार ८३ वर्षको उमेरमा हैदराबादस्थित निवासमै निधन भएको छ। उनी केही समयदेखि अस्वस्थ थिए।
कोटा श्रीनिवासले आफ्नो चार दशक लामो फिल्म यात्रा दौरान तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। सन् २०१५ मा भारत सरकारबाट उनलाई पद्मश्री सम्मान प्रदान गरिएको थियो।
सन अफ सत्यमूर्ति, टेम्पर, येवादु, रक्त चरित्र, सरकार, बागी जस्ता थुप्रै हिट फिल्ममा उनले खलनायकको भूमिकामार्फत दर्शकको मन जितेका थिए। उनको अभिनयले सदैव दर्शकलाई झस्कायो, भित्रसम्म छुन सक्यो।
उनको अभिनय यात्राको अन्तिम फिल्म सन् २०२३ मा रिलिज भएको ‘कब्जा’ थियो, जसमा उपेन्द्र, किच्चा सुदीप, श्रिया शरणजस्ता कलाकारहरू थिए।
फिल्म बाहिर पनि उनले समाज र राष्ट्रका लागि योगदान दिएका थिए। उनी सन् १९९९ देखि २००४ सम्म आन्ध्र प्रदेशको विजयवाडा पूर्व क्षेत्रबाट विधायकको रूपमा चुनिएका थिए।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,
“उनले जुनसुकै भूमिका निर्वाह गरे पनि त्यो सजीव बनाउँथे। भारतीय चलचित्र क्षेत्रले असल कलाकार गुमाएको छ।”