झन लामो विदेशिनेको लर्को, एक वर्षमै करिब साढे आठ लाखले लिए श्रम स्वीकृति

अक्षरपाटी
२०८२ साउन ४ , शनिबार ११:०७ मा प्रकाशित

काठमाडौं। हरेक वर्ष विदेशिने युवाको लर्को बढ्दै गएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने यो हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको हो।

श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला भएको विभागले जनाएको छ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत रहेको जानकारी दिए।

उनका अनुसार श्रम स्वीकृति लिएकामा संस्थागत लिने तीन लाख ५९ हजार ६७५, पुनः श्रम स्वीकृति लिने तीन लाख ३३ हजार ३०९, व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने एक लाख ३३ हजार ६२७ र जिटुजी भएका देश दक्षिण कोरिया, इजरायल र बेलायतमा १२ हजार ६५३ जना छन्।

नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन्।

गएको आवमा प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ।

यो बाहेक अध्ययनका लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया, युके, इजरायललगायतका देशमा जाने नेपाली युवायुवतीको सँख्या छुट्टै छ।

वैदेशिक रोजगार श्रम स्वीकृति