गभर्नरको प्रशंसा, सरकारको आलोचना गर्दै पुनले भने : सीमित घरानालाई ६० प्रतिशत कर्जा

अक्षरपाटी
२०८२ साउन ७ , मंगलबार १०:०७ मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रलाई लिएर कांग्रेस र एमाले गठबन्धन सरकारको तीव्र आलोचना गरेका छन्।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पुनले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भने प्रशंसा गरे।

पुनले सरकारले सुधारका कदम नचालेका कारण अर्थतन्त्र चलायमान हुन नसकेको आरोप मात्र लगाएनन्, आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत अर्थतन्त्रका चुनौती सामना गर्ने गरी नीति कार्यक्रम नल्याइएको बताए।

पुनले राष्ट्र बैंकको मौद्रिक नीतिले भने केही आशा जगाएको बताए।

‘दुई तिहाइको सरकार बन्नु आफैंमा विशिष्ट अवस्था हो। तर दुईतिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउने सकेन। संख्यात्मक रुपमा यति बलियो सरकारले वित्त नीति राम्रो ल्याउन सकेन,’ पुनले भने, ‘वित्त नीति नै राम्रो नआएपछि मौद्रिक नीतिले धेरै गर्न सक्दैनथ्यो। तर, गभर्नरले तुलनात्मक रुपमा मौद्रिक नीति राम्रो ल्याउनुभएको छ।’

बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको ६० प्रतिशत हिस्सा सीमित घरानाले प्रयोग गर्ने गरेको भन्दै पुनले बहुसंख्यकले त्यसको लाभ लिन सक्नुपर्ने बताए।

‘थोरै मानिसको हातमा ६० प्रतिशत कर्जा प्रवाह भएको छ। सीमित घरानाको मात्र वित्तीय पहुँच भएका कारण अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको छ,’ उनले भने।

अर्थतन्त्र कर्मचारी संगठन कृषि विकास बैंक