काठमाडौं। ज्योति विकास बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा २४ घण्टा, सातै दीन उपलब्ध हुने एआई च्याटबाट ‘ज्योति’ सार्वजनिक गरेको छ।
जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ।
आम नागरिकमा सहज पहुँचसहित समृद्धि ल्याउने उद्धेश्यका साथ २०६५ साल साउन ९ गने बैंकको स्थापना भएको थियो।
ज्योति विकास बैंकले २०८२ साउन ९ गते १७ वर्षको सफल यात्रा पुरा गरि १८औं वर्षमा प्रवेश गरेको छ।
प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए।
समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो।
बैंकका अध्यक्ष हरिचन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए।
एआई च्याटले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ। यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एप वा खल्ति वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्, जुन सेवा विशेषगरी एटीएम वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुने बैंकले जनाएको छ।
वार्षिकोत्सवको अवसरमा, बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ।
तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ।
राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ।
यस्तै, ईनेबल नेपालसँग मिलेर १७ जना शारीरिक रुपले फरक क्षमता भएका बालबालिकालाई थ्रीडि प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ।
हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १७ हजार वृक्षारोपण गरिने घोषणा गरिएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति गट ट्यालेटको दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो।
विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। जसमा करिब ५५ जना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका थिए।
बैंकले वार्षिकोत्सवको अवसरमै निशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर पनि आयोजना गरेको छ।
कार्यक्रममा अध्यक्ष खड्काले मन्तव्य व्यक्त गर्दै, बैंकको १७ वर्षको सफल यात्रामा साथ दिने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका थिए।
त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरे।