Logo
२५ भदौ २०८२, बुधबार

पहिलो चुनावमा पार्टीले दिएको २०० रुपैयाँमा २० बचाएर चिया खाएँ : प्रधानमन्त्री ओली

अक्षरपाटी
२०८२ साउन १८ , आईतबार ०२:०८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् ।

आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गएको, कालोधनलाई सेतो बनाउने काम निर्वाचनमा हुने गरेको लगायतका तर्कसहितका धारणा राखेका थिए ।

तर, त्यसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले ०४८ सालमा आफूले पहिलोपटक झापाबाट निर्वाचन लडेको र उक्त निर्वाचनमा पार्टीले दिएको २ सय रुपैयाँमा अझै २० रुपैयाँ बचेको बताए ।

‘निर्वाचनको बारेमा विद्वान मित्रहरूले भनेको कुरामा एकाध ठाउँमा च्यालेन्ज गर्न मन लाग्यो । म आफैं निर्वाचन लडेर आएको छु । मेरो निर्वाचन ०४८ सालमा ४३ हजार रुपैयाँ साथीहरूले चन्दा उठाएका थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘२१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा बसेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो । १० हजार रुपैयाँ चुनाव पछि बचत रह्यो पार्टीकै कोषमा ।’

उक्त चुनाव हुने बेलामा आफ्नो पार्टीको महासचिव माधव कुमार नेपाल रहेको र नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए ।

‘त्यस चुनावमा हाम्रो पार्टीको महासचिव माधव कुमार नेपाल हुनुहुन्थ्यो । उहाँले बाटो खर्च भनेर २ सय दिनुभएको थियो । चुनावमा जाँदा १ सय ८० रुपैयाँ बस भाडा र बीचमा खाना खानका लागि २० रुपैयाँ,’ ओलीले थप प्रष्ट पार्दै भने, ‘एउटा साथी भेटियो उसले मैले तिर्छु भनेर खानाको पैसा पनि उसैले तिर्‍यो । २० रुपैयाँ बच्यो ।’

उक्त बचेको २० रुपैयाँ चुनाव सकिएपछि साथीहरूसँग बसेर चिया पिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफू नेपालका आम निर्वाचनमा दुई पटक सर्वाधिक मत ल्याएर जितेको मान्छे भएको भन्दै स्वच्छताका साथ पनि चुनाव जित्न सकिने जिकिर गरे ।

‘दुईवटा आम निर्वाचनमा नेपालमा सर्वाधिक भोट ल्याएर जितेको मान्छे मै हुँ । कुनै प्रकारको अपफियर चिज नगरी, बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, अनुचित क्रियाकलाप नगरी स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ । धन र बलको प्रयोग बिना जितेको हुँ,’ प्रधानमन्त्री ओलीले भने, ‘सञ्चारमाध्यममा लाइभ गइरहेको छ, म भनिरहेको छु । कसैले असत्य प्रमाणित गर्न सक्छ भने, अहिलेसम्मका कुनै निर्वाचनमा मैले कतै बुथ कब्जा गरेको भए, नियम उल्लंघन गरेको भए कसैले मलाई औंलो ठड्याउन सक्छ भने हेरौं । रिस उठेर गाली गर्ने कुरा बेग्लै हो ।’

चुनाव प्रधानमन्त्री केपी शर्मा ओली