Logo
३ भदौ २०८२, मंगलबार

नबिल बैंकको किओस्के मेसिन : कर्मचारीलाई खुकुलो, ग्राहकलाई सजिलो

अक्षरपाटी
२०८२ साउन २८ , बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं। चेक डिपोजिट गर्नु छ भने तपाईँलाई लाग्नसक्छ कति लामो लाइनमा कुरेर बस्नुपर्ने हो ? कति समयमा पालो आउने हो ?

अब पीर नगर्नुस । नबिल बैंकले आफ्ना ग्राहकलाई यो झन्झटबाट मुक्त हुने नयाँ प्रविधि सुरु गरिसकेको छ।

उसो त विदेशमा यसखाले किओस्के मेसिन धेरै पहिला प्रचलनमा थिए । अझ नगद वा सिक्का नै आफै आफ्नो खातामा राख्न र झिक्न मिल्ने सुविधा विकसित देश अस्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपलगायतका देशमा पहिल्यै प्रचलनमा थियो।

हाम्रोजस्तो विकासशील देशमा पनि अब बैंकिङ क्षेत्रमा प्रविधिले फड्को मार्दै गएको छ। प्रविधिको नयाँ आयाम थपेर नबिल बैंकले आफ्ना ग्राहकलाई झण्झटरहित सेवा दिइरहेको छ।

बैंकले आफ्ना शाखाहरूमा राखेको ‘किओस्के’ मेसिनले ग्राहकलाई सजिलो सेवा र बैंकको कार्यसम्पादनमा खुकुलो तुल्याइदिएको बैंकले जनाएको छ।

ग्राहकले ‘चेक डिपोजिट मेसिन’ भनेर चिन्ने यो अत्याधुनिक ‘स्क्रिनटच’ मेसिनमार्फत ग्राहकले आफैंले सजिलै चेक डिपोजिट गर्न सक्छन्, जहाँ लाइन पनि बस्नु पर्दैन ।

नबिल बैंकका अनुसार डिजिटल ट्रान्सफर्मेसनको यात्रालाई अगाडि बढाउने क्रममा बैंकले यी मेसिन आफ्ना केही शाखामा राखेको जनाएको छ।

सन् २०२३ डिसेम्बरमा पहिलो पटक १० शाखाबाट सुरु गरेको यस्ता मेसिनको प्रभावकारिता र ग्राहकको प्रतिक्रया एकदमै सकारात्मक आएपछि हाल किओस्के मेसिन १८ वटा शाखामा राखिएको नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले जनाएका छन्।

‘हामी ग्राहकका लागि सहज, सुलभ र झण्झटरहीत सेवा दिन प्रतिबद्ध छौं,’ प्रमुख बजार अधिकृत शर्मा भन्छन्, ‘आगामी दिनमा थप किओस्के मेसिन थप गर्ने योजनामा छौँ।’

यो मेसिनले बैंक भित्रको भीडभाड कम गराउने मात्र नभएर कर्मचारीलाई खुकुलो भएकाले उनीहरुको समय र ऊर्जा अन्य काममा सदुपयोग गर्न सकिएको पनि बैंकले जनाएको छ।

चेक डिपोजिटका लागि आएका ग्राहकलाई दिनुपर्ने समय बैंककै अन्य महत्वपूर्ण काममा दिन सकेको बैंकका कर्मचारीहरु बताउँछन्।

बैंकको किओस्के मेसिनमा चेक डिपोजिट गर्दै गरेका रमेश खतिवडाले भने, ‘यो मेसिन काइदाको रैछ, न त लाइन बस्नु पर्यो, न समय खेर गयो। पहिला लाइनमै समय जान्थ्यो। अब त्यो समय अरु नै काममा लगाउन पाइएको छ।’

किओस्के मेसिन नबिल बैंक